छोराको कुटपिटबाट आमाको मृत्युः यस्तो रहेछ घटना
असार १३, २०८३, शनिबार | दिउँसो १२:५५ बजे | 95
भक्तपुर, असार १३ — भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले साँझ करिब ७ः४५ बजे कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएकी चौधरीलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो। उपचारकै क्रममा शुक्रबार राति १ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न किरण चौधरीलाई जगाती प्रहरी बृतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
घटना विवरण अुनसार छोराले मादक पदार्थ सेवन गरेर घर आएका थिए । त्यसपछि आमालाई कुटपिट गरेका थिए । कुटपिटबाट आमाको टाउकोमा चोट लागेका थियो । साथै अनुहारमा पनि रगतै रगत हुने गरी कुटपिट भएको थियो । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
