कोभिड विरुद्धको अभियानमा शिक्षक पनि फ्रन्टलाईनमा
भदौ ६, २०७७, शनिबार | विहान ०६:०५ बजे | 30
राकेश सुकुपायो
शिक्षक पेशागत बिषय भन्दा माथि उठेर समाज राष्ट्रिय हितमा अग्रसर हुने राष्ट्र सेवक हुन । शिक्षक आफै समाजको निर्देशक पथप्रदर्शक भएकाले शिक्षक कहिल्यै खालि हुँदैनन । उनिहरु जुनसुकै महाविपत्तिमा पनि कुनै न कुनै माध्यमबाट प्रत्यक्ष परोक्ष विद्यार्थी, समुदायसंग जोडिरहेका हुन्छ्न। विश्वव्यापि महामारीको रुपमा फैलिरहेको यो कोरोना भाइरस विरुद्ध सवै समुदाय, नागरिक , महिला पुरुष, युवा विद्यार्थी ,हर तरहका मानिसहरु एकजुट भएर लड्नुको विकल्प छैन । जसमध्ये मोर्चाको अग्रपंक्तिमा स्वास्थ्यकर्मी छ्न भने त्यसपछिको फ्रन्टलाईनमा शिक्षकहरु नै पर्न आउँछ ।
जतिबेला चिनको उहानमा यो महामारी फैलिरहेको थियो त्यतिबेला कक्षाकोठामा यस भाईरस सम्बन्धि जानकारीहरु प्रत्यक्ष रुपमा विद्यार्थीहरुमाझ राख्दै आएका थिए शिक्षकहरुले । लकडाउनको समयमा पनि धेरैजसो शिक्षकहरु आ आफ्नो समुदायमा कोरोना संक्रमणको जोखिम कम गर्न, भाइरस सर्ने तरिका तथा बच्ने उपाय र नियन्त्रण गर्ने उपायहरु सम्बन्धि जनचेतना फैलाउने कार्यमा बिना निर्देशन नै लागिपरेका थिए र लागिरहेका पनि छ्न । यस बिच नेपाल सरकारले औपचारिक रुपमा कोरोना विरुद्ध शिक्षकहरु परिचालन गर्ने निर्णय आएको छ । यो निर्णय ढिलो आए पनि सह्रानिय छ। हिजो अनौपचारिक रुपमा आ आफ्ना क्षेत्र समुदायमा आफै परिचालित शिक्षकवर्ग यो निर्णयले औपचारिक रुपमा परिचालित हुने बाटो खोलेको छ । यसले गर्दा शिक्षकहरु पनि निसंकोच परिचालित हुन तयार हुनेछ्न । कोभिड विरुद्ध शिक्षकहरु पनि फ्रन्टलाईनमा आउनेछ्न । सरकारले शिक्षकलाई बिना हतियारका सेनाको रुपमा विश्वास गरेको देखिन्छ । यथासम्भव युवा शिक्षकवर्गलाई परिचालन गर्ने गरी निर्देशिका आउन जरुरी छ । ती शिक्षकहरुको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु लगायत न्यूनतम सेवा सुविधासमेत निर्धारण गर्नु आवश्यक छ ।