दसदिने खुर्कोट महोत्सव सुरु
पुष १७, २०७८, शनिबार | विहान ०५:२८ बजे | 0
खुर्काेट । आयाम क्लब सिन्धुली खुर्कोटको आयोजनामा शुक्रबारदेखि खुर्कोट महोत्सव सुरु भएको छ । महोत्सव खुर्कोटस्थित खुर्काेट बजार नयाँं बसपार्कस्थित खुल्ला चौरमा भइरहेको छ ।
खुर्काेटको दीगो विकास, अर्थतन्त्रको आधार, कृषि, जलश्रोत, पर्यटन र उद्योगको पूर्वाधार भन्ने नाराका साथ महोत्सव भएको हो । खुर्काेटको दीगो विकासको मूल उद्देश्यका साथ महोत्सवको आयोजना गरको आयोजक आयाम क्लब सिन्धुलीका अध्यक्ष रिमबहादुर देवकोटा (सुवास) ले बताए ।
महोत्सवको उदघाटन संघीय सांसद एवं पूर्वमन्त्री गणेश पहाडीले गरेका थिए । त्यस अवसरमा उनले महोत्सवबाट सिन्धुलीको विकासमा सहयोग पुग्ने विश्वास लिए । कार्यक्रममा बागमति प्रदेशका पूर्व स्वास्थ्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला समिति सिन्धुलीका अध्यक्ष दीपक कटुवाललगायतले महोत्सवको महत्वबारे चर्चा गरे ।
महोत्सवमा सहभागी हुनेका लागि टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि प्रतिव्यक्ति रु ५० र अन्यका लागि प्रतिव्यक्ति ७५ प्रवेश शुल्क तोकिएको छ । बृद्धबृद्धा एवं अपांग, अशक्तहरुका लागि भने प्रवेश निःशुल्क गरिएको जनाइएको छ । महोत्सव पुष २५ गतेसम्म चल्नेछ । यसअघि गतवर्ष यही मौसममा पहिलो महोत्सव भएको थियो ।
महोत्सवमा सिन्धुलीसहित छिमेकी जिल्लाहरु रामेछाप, ओखलढुंगा, काभ्रेलगायतबाट सहभागी हुने अपेक्षा गरिएको छ । दसदिने महोसत्वसमा ७० हजार भन्दा वढी अवलोकन भ्रमण गर्ने अपेक्षा राखिएको छ ।