कवि होमनाथ खत्रीको 'आत्मिकी अन्धकार' लोकार्पित
असार ३०, २०८३, मङ्गलबार | राति ०७:५१ बजे | 85
महालक्ष्मी साहित्य समाजको आयोजनामा कवि होमनाथ खत्रीको 'आत्मिकी अन्धकार' लोकार्पित भएको खबर छ। भानु जयन्तीको नजिक रहेर आदिकवि भानुभक्त आचार्यको सम्झना गर्दै महालक्ष्मी साहित्य समाजका अध्यक्ष बिनोद खत्री आकाशको सभा अध्यक्षता, प्रमुख अतिथि समालोचक कृष्ण प्रधान, विशिष्ट अतिथि प्राज्ञ चेतनाथ धमला, विशिष्ट अतिथि वडा नं ९ का वडा अध्यक्ष जयकृष्ण बोगटी, कलाकार नरेन्द्र थापा, समाजसेवी चिरन्जीवी आचार्यलगायत अन्य थुप्रै व्यक्तित्वहरूबाट पुस्तक लोकार्पण गरिएको थियो। संस्थाका सदस्य पुस्कर जङ्ग थापाले स्वागत मन्तव्य राख्नुभएको थियो। पुस्तकबाट कविहरु शेखर आचार्य , रुबिना रानामगर, राजेश मान केसी र नानीराम बस्नेतले कविता वाचन गर्नुभएको थियो। वडा अध्यक्ष जयकृष्ण बोगटीले "यो कृति अब हाम्रो समाजको भएको छ यसबाट हामीले धेरै कुरा सिक्न सक्नेछौ र समाजको विकासका लागि यो पुस्तक दस्तावेज हुनेछ" भन्नुभयो। दर्शकदिर्घाबाट शिक्षक तथा कवि रविद्र थापाले शुभकामना दिँदै यो कृतिले शिक्षालाई पनि समेटेको कुरा गर्नुभयो। कलाकार नरेन्द्र थापाले "अन्धकारको मात्र होइन अब उज्यालोका कुराहरूमा पनि कलम चलाउनुहोस् कविज्यू" भन्नुभयो। कवि गोविन्द बहादुर खड्काले "आत्मिकी अन्धकार भाग १ पुस्तक पढेर समय सान्दर्भिक कविता प्रस्तुत गर्नुभएको थियो| कवि होभनाथ खत्रीले "नेल्शन मण्डेला महात्मा गान्धी जस्ता सरल स्वभाव भएका व्यक्तिबाट प्रेरित भएर यो आत्मिकी अन्धकार जन्मेको" कुरा राख्नु भयो| प्रमुख अतिथि कृष्ण प्रधानले "यसभित्रका कविताहरू शीर्षक फरक फरक भए पनि तिनका सन्देश भने मुलत: एकै देखिन्छ भन्नुभयो| संस्थाका सदस्य रेडियो कर्मी पुरुषोत्तम बस्नेतले उद्घोषण गर्नुभएको कार्यक्रम तीन घण्टासम्म चलेको थियो र लगभग ५० जना सहभागी थिए।
