मध्यपुर थिमी नगरपालिका र कमेरोटारबासीबीच सहमति
असार ३०, २०८३, मङ्गलबार | राति ०७:११ बजे | 575
भक्तपुर, कमेरोटारबासीहरूको निरन्तर शान्तिपूर्ण आन्दोलन, एकता र दबाबपछि मध्यपुर थिमी नगरपालिका र कमेरोटारबासीबीच महत्वपूर्ण सहमति भएको छ। लामो समयदेखि उठाइँदै आएका मागहरू सम्बोधन गर्ने दिशामा नगरपालिकाले पहल गरेपछि आन्दोलनको पहिलो चरणलाई कमेरोटारबासीहरूले ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन्। सहमतिअनुसार कमेरोटार जग्गा एकीकरण आयोजनासम्बन्धी व्यवस्थापनलाई थप समावेशी, व्यवस्थित र संस्थागत बनाउने उद्देश्यले तीनवटा महत्वपूर्ण निर्णय गरिएको छ।
निर्णय नं. १
कमेरोटार जग्गा एकीकरण आयोजनाको उपभोक्ता समितिमा विद्यमान उपभोक्ता समितिका सदस्यहरूसँगै कमेरोटार जग्गा एकीकरण आयोजना क्षेत्रभित्र क्रियाशील टोल विकास संस्थाबाट ९ जना थप गरी उपभोक्ता समिति गठन गर्ने।
निर्णय नं. २
उक्त उपभोक्ता समितिलाई आधिकारिक रूपमा दर्ता गर्न ९० दिनभित्र विधानको मस्यौदा तयार गरी पेश गर्न देहायअनुसारको कार्यदल गठन गर्ने।
१) संयोजक – श्री बालकृष्ण श्रेष्ठ, ५ नं. वडा अध्यक्ष
२) सदस्य – श्री दुर्गा मोहन श्रेष्ठ
३) सदस्य – श्री ओम प्रकाश श्रेष्ठ
४) सदस्य – श्री श्रीबहादुर खड्का
५) सदस्य – श्री भोला पोखरेल
निर्णय नं. ३
उक्त समितिले नगर प्रमुखसँग समन्वय गरी कार्य गर्ने।
स्थानीयवासीहरूले यस सहमतिलाई आन्दोलनको पहिलो चरणको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। उनीहरूका अनुसार लामो समयदेखि उठाइँदै आएका मागहरूलाई नगरपालिका सकारात्मक रूपमा सम्बोधन गर्न तयार भएको संकेतस्वरूप यो सहमति भएको हो।
कमेरोटारबासीहरूले सहमतिका बुँदाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै आवश्यक परे आगामी दिनमा पनि जनचासोका विषयमा एकताबद्ध भएर आवाज उठाइरहने बताएका छन्।
फाेटाेमा हेर्नुहाेस्...
