भक्तपुरमा अन्तर नगर बुद्धिचाल प्रतियोगिता हुने


फाल्गुन २१, २०७७, शुक्रबार | दिउँसो १२:३६ बजे | 15


भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म अन्तरनगर बुद्धिचाल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँे (रोहित) ले गर्ने छन् । उक्त कुरा शुक्रबार सम्पन्न पत्रकार भेटघाटमा बताइएको छ ।
अन्तर नगर बुद्धिचाल प्रतियोगितामा २२ वटा भन्दा बढी नगरपालिकाले भाग लिन नाम दर्ता गराइसकेका छन् भने अन्तरनगर विद्यालय खेलकुद प्रतियोगितामा १० वटा विधा १० वडा वडामा खेलाइने बन्दोबस्त भएको नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा विभिन्न जिल्लाबाट हालसम्म जम्मा २२ वटा नगरपालिकाहरूले भाग लिन नाम दर्ता गराइसकेका छन् । ती नगरपालिकाहरूमा मध्यपुर थिमी नगरपालिका, बनेपा नगरपालिका,  भक्तपुर नगरपालिका ‘ए’, भक्तपुर नगरपालिका ‘बी’, भिमेश्वर नगरपालिका, बुटवल उपमहानगरपालिका, चाँगुनारायण नगरपालिका, दैलेख नगरपालिका, दमक नगरपालिका, धरान उपमहानगरपालिका, हेटौडा उपमहानगरपालिका, कैलाली नगरपालिका, काठमाडौं महानगरपालिका, किर्तिपुर नगरपालिका, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, नागार्जुन नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, पोखरा महानगरपालिका, राजबिराज नगरपालिका, रुकुम नगरपालिका, सूर्यविनायक नगरपालिका, टोखा नगरपालिका रहेको जनाइएको छ ।
प्रतियोगितामा प्रथम हुने टीमलाई १,५०,०००।–, दोस्रोलाई १,००,०००।–, तेस्रो टीमलाई ५०,०००।– र प्रत्येक बोर्डको उत्कृष्ट खेलाडीलाई प्रति खेलाडी रु. ५,०००।– नगद पुरस्कार प्रदान गरिने जनाइयो । यस प्रतियोगिता सञ्चालन गर्न कूल रू. २६ लाख रकम बजेट विनियोजन गरिएको छ ।
भक्तपुर नगरपालिकाले हरेक वर्ष अन्तरनगर (फुटबल, कबड्डी, बक्सिङ, टेबुल टेनिस, कराँते र एथ्लेटिक्स) खेलकुद प्रतियोगिता सफलतापूर्वक आयोजना गर्दै आएको छ । यस वर्ष शहीद दिवसको अवसरमा अन्तरनगर बुद्धिचाल प्रतियोगिताको आयोजना गर्दैछ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विगतका वर्षहरुमा झैं यो वर्ष हुने अन्तर नगर बुद्धिचाल प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न पत्रकारहरुले सक्रिय भूमिका खेल्ने आशा व्यक्त गरे । प्रमुख प्रजापतिले समाज परिवर्तनको लागि खेलाडीहरु बढी जागरुक भएर सेवा गर्नुपर्नेमा जोड दिदै भक्तपुर नपाले भक्तपुरको मौलिक खेललाई जीवन्त तुल्याउन स्थानीय पाठ्यक्रममा समावेश गरी नयाँ पुस्ताका विद्यार्थीमाझ पठनपाठन गराइरहेको बताए ।
पत्रकार भेटघाट कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नपाको आयोजनामा हुने अन्तर नगर बुद्धिचाल र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताबारे प्रेस विज्ञप्ति वाचन गरे ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष, वडा नं. २ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका सदस्यद्वय उकेश कवां र हरिप्रसाद बासुकलाले खेलकुदको विकासले खेलाडीहरुको व्यक्तित्व विकास हुने, खेलाडीहरुलाई उत्साहित गर्न प्रतियोगिताको खाँचो रहेको र भक्तपुर नपाले सबै खेलहरुलाई समान रुपमा प्राथमिकतामा राखी प्रतियोगिताहरु आयोजना गर्दै आएको बताए । बुद्धीचालसँंगै भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता पनि हुने जनाइयो । 

फाेटाेमा हेर्नुहाेस्...

Comments