किन गए नगदेशबासी मध्यपुर थिमि नगरपालिका ?
बैशाख २९, २०८३, मङ्गलबार | राति ०९:४० बजे | 630
मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिका –७ नगदेशबासीले निजी कम्पनीलाई जग्गा प्लटिग गर्न नदिन निवेदन दिएका छन् । वडास्थित नगदेश धुन्चेपाखा धपर्क फाँंटमा निजी कम्पनीले जग्गा प्लटिङ्ग गर्न लागेको भन्दै त्यसकाविरुद्ध त्यहाका जग्गाधनीहरुले मध्यपुर थिमि नगरपालिका र वडा कार्यालयमा मंगलबार छुटाछुटै निवेदन दर्ता गराएका हुन् ।
यस नगरपालिकाले जग्गा एकीकरण गरी व्यवस्थित, आधुनिक तथा सुविधा सम्पन्न वस्ती विकास गर्ने उद्देश्यले सानेपास्थित एक कम्पनीसँंग सम्भाव्यता अध्ययन गरी कार्य अगाडि बढाएको जानकारी प्राप्त भएकोले त्यसो नगर्न हामी अनुरोध गर्दछौं, स्थानीयद्धारा दिइएको निवदेनमा उल्लेख छ । नेपालको संविधान २०७२ को अनुसूची ८ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नगरपालिका आफैंले यो काम गर्न उनीहरुको अनुरोध छ । स्थानीय तहलाई योजनाबद्ध वस्ती विकास तथा जग्गा व्यवस्थापनको अधिकार प्रदान गरेको सन्दर्भमा नगरपालिकाले बनाएको “वस्ती विकास तथा जग्गा एकीकरण ऐन २०७७” कार्यान्वयन गरी वडा नं. ७ मा समेत जग्गा एकीकरण कार्यक्रम सञ्चालन गरियोस् भन्ने उनीहरुको माग रहेको छ ।
नगरपालिकाबाट स्वीकृत भएका जग्गा एकीकरण आयोजनाहरू सफल रूपमा सञ्चालन भइरहेका र त्यस्ता योजनाबाट सडक, ढल, खुला क्षेत्र तथा अन्य पूर्वाधार व्यवस्थापनमा सकारात्मक परिणाम प्राप्त भएकोले यस्तो काम नगरपालिका आफैंले गर्न उनीहरुको माग छ । यसबाट व्यवस्थित वस्ती विकास सम्भव हुने विश्वास उनीहरुले गरेका छन् । यस क्षेत्रमा केही भूमाफियाहरूले स्थानीय जग्गाधनीहरूलाई भ्रममा पार्दै अनधिकृत प्लटिङ कार्य अघि बढाइरहेको जानकारी प्राप्त भएको भन्दै उनीहरुले यस सम्बन्धमा नगरपालिका र वडा कार्यालयमार्फत आवश्यक समन्वय र नियमन गरिदिन अनुरोध गरेका छन् ।
निश्चित मापदण्ड, नियम र क्राइटेरिया बनाई जग्गा एकीकरण गरी व्यवस्थित तथा आधुनिक वस्ती विकास गर्नुको सट्टा केही व्यवसायीहरूले अनधिकृत रूपमा जग्गा प्लटिङ गर्ने, न्यून चौडाईका बाटा बनाउने, ढल तथा पानीको उचित व्यवस्था नगर्ने, दमकल तथा एम्बुलेन्ससमेत प्रवेश गर्न नसक्ने अवस्था सिर्जना गर्ने जस्ता कार्यले नगर क्षेत्रमा दीर्घकालीन समस्या बढ्दै गएको उनीहरुको भनाई छ । साथै, कम मूल्यमा जग्गा किनेर अत्यधिक मूल्यमा बिक्री गर्ने प्रवृत्तिले कर तथा राजस्व व्यवस्थापनमा समेत असर परेको उनीहरुको भनाई छ । त्यसैले नगरभित्रका जग्गाहरूलाई व्यवस्थित रूपमा एकीकरण गरी योजनाबद्ध वस्ती विकास गर्न नगरपालिका स्वयम लाग्नुपर्ने आवश्यकता उनीहरुले औंल्याए ।
नगरपालिकाको कार्यालयमा उनीहरुले कार्यकारी अधिकृत र वडामा वडा अध्यक्षलाई बुझाई निवदेन दर्ता गराएका हुन् । टोलीमा चार दर्जन जग्गाधनीहरुको हस्ताक्षरसहित गए पनि कसैको नाम उल्लेख नगर्न जग्गाधनीहरुले अनुरोध गरे । ठूला प्लटिंगवालाहरुविरुद्ध अगुवा गर्नेलाई बाँंकी नराख्ने भएकाले बुझाइएको निवदेनका फोटो र नाम उल्लेख नगर्न जग्गाधनीहरुको अनुरोध थियो ।
वडाको नागदेश धुन्चेपाखा क्षेत्र (साविक सिद्घि गणेश गा.वि.स. वडा नं. ७) अन्तर्गत पर्ने र हाल मध्यपुर थिमि नगरपालिका वडा नं. ७ मा पर्ने जग्गामा अहिले प्लटिंगको काम अगाडि वढाइएको छ । परम्परादेखि नै खेतीपातीमा निर्भर रहँदै आएका कारण विगतमा एकीकृत वस्ती विकासको अवधारणा कमजोर रहेको तर पछिल्लो समयमा अव्यवस्थित रूपमा जग्गा प्लटिङ हुँदै जाँदा बाटो, ढल, पानी, खुला स्थान लगायतका पूर्वाधार व्यवस्थापनमा समस्या उत्पन्न हुँदै गएकोले प्लटिंगको विरोध नभई निजी क्षेत्रबाट प्लटिंग नगराउन उनीहरुको माग हो । व्यवस्थित सहरीकरणलाई मध्यनजर गरी नगरपालिकाले २०७७ सालमा “वस्ती विकास तथा जग्गा एकीकरण ऐन” निर्माण गरेको स्मरण गराउँदै उनीहरुले नगरपालिकाबाटै यो काम गर्न गराउन अनुरोध गरेका हुन् । यसकारण नगदेश धुन्चेपाखा क्षेत्रलाई व्यवस्थित, सुरक्षित तथा आधुनिक वस्ती विकास योजनाअन्तर्गत समेटी आवश्यक प्रक्रिया अगाडि बढाइदिन उनीहरुले अनुरोध गरेका छन् ।
