सल्लाघारी क्षेत्रमा चेकजाँचका क्रममा एक जनालाई पक्राउ
बैशाख १५, २०८३, मङ्गलबार | विहान ०८:५२ बजे | 1375
भक्तपुर, वैशाख १५ — भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रमा लागूऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मिति २०८३ वैशाख १४ गते साँझ करिब ५:३० बजे सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित क्षेत्रमा चेकजाँचका क्रममा एक जनालाई पक्राउ गरिएको हो।
प्रहरी प्रभाग ब्यासीबाट खटिएको टोलीले सवारी साधन जाँच गर्ने क्रममा सिन्धुली हरिहरपुर गाउँपालिका–८ स्थायी घर भई हाल भक्तपुरको दार्जिलिङ हाइटमा बस्दै आएका ३० वर्षीय प्रकाश पाखिनलाई रोकी जाँच गर्दा ठूलो परिमाणमा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट डाइजोपाम, नोर्फिन र फेनेरागनका १०३–१०३ एम्पुल, ट्रामाडोल ८५० ट्याब्लेट र नाइट्राभेट २१० ट्याब्लेट बरामद गरेको छ। साथै नगद रु. २८ हजार २५० र बा.प्र.०२–०६४ प ४९८५ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
