सामुदायिक र संस्थागत विद्यालयलाई शैक्षिक गुणस्तरमा समान बनाउन जोड


चैत २३, २०८२, सोमबार | विहान १०:३२ बजे | 25


सामुदायिक र संस्थागत विद्यालयलाई शैक्षिक गुणस्तरमा समान बनाउन जोड

सामुदायिक र संस्थागत विद्यालयलाई शैक्षिक गुणस्तरमा समान बनाउन जोड : भनपा प्रमुख सुनिल प्रजापति सन्तति आधारभुत विद्यालयको ३८औँ वार्षिकोत्सव समारोह कार्यक्रम सम्पन्न भक्तपुर, चैत २२ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सन्तति आधारभूत विद्यालयको ३८ औं वार्षिकोत्सवको पानसमा दिप प्रज्ज्वलन गरी एक समारोहबीच उद्घाटन गर्दै सामुदायिक र संस्थागत विद्यालयलाई शैक्षिक गुणस्तरमा समान बनाउने जोड दिनुभयो । उद्घाटन कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयलाई शैक्षिक गुणस्तरमा समान बनाउने कोशिश गर्दै आएको र समुदायको विकासको लागि निरन्तर पहल गरिरहेको बताउनुभयो । उहाँले सन्तति आ.वि.को स्तरोन्नतिको पहल भइरहेको बताउँदै विद्यालयको शैक्षिक विकास सँगसँगै विद्यालयले विद्यार्थीहरुलाई नैतिक र सामाजिक भावनाको विकासका साथसाथै स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयवस्तुमा जानकार बनाउनुपर्ने सुझाव दिनुभयो । प्रमुख अतिथि प्रजापतिले भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममार्फत नगरको समय विषयवस्तुबारे शिक्षा प्रदान गरिरहेको जानकारी दिँदै भक्तपुर नगर उदाहरणीय बनिरहेको र देशकै नमूना नगर बनाउन सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा र सरसफाईलाई प्राथमिकतामा राख्दै काम गरिरहेको बताउँदै नगरभित्रका विद्यालयमा कार्यरत शिक्षकहरुलाई समय समयमा क्षमता अभिवृद्धिका तालिमहरु सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति सूर्य प्रसाद श्रेष्ठले विद्यालयको शैक्षिक प्रगतिको लागि शिक्षक, विद्यार्थी र अभिभावकहरुको महत्वपूर्ण भूमिका रहने चर्चा गर्नुहुँदै विद्यालयले आगामी वर्षदेखि कक्षा ८ को पढाई सञ्चालन गर्ने तयारी रहेको जानकारी दिँदै वडावासी अभिभावकहरुको साथ र सहयोगको अपेक्षा गर्नुभयो । साथै उहाँले विद्यालयमा स्थान अभावका कारण विद्यालयको पठन पाठनमा कठिनाई भइरहेको हुँदा थप भवन निर्माणको लागि भक्तपुर नपाबाट आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपक माकले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नपली सृजनानगर समाजका अध्यक्ष नारायण प्रसाद कोइराला, अभिभावक प्रतिनिधि अप्सरा गौतम, शिक्षकद्वय जगन्नाथ डुम्रे तथा कृष्णमाया बस्नेत, विद्यार्थी प्रतिनिधिहरु संसार अधिकारी र एलिसा गौतमले पनि आ–आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले विद्यालयका उत्कृष्ट अभिभावकहरुलाई दोसल्ला र सम्मान पत्र तथा वार्षिक परीक्षा तथा विभिन्न अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति, पुरस्कार, प्रमाण पत्र र मेडल वितरण गर्नुभएको थियो । हाल सन्तति आधारभूत विद्यालयमा १९३ जना विद्यार्थीहरु अध्ययनरत रहेको प्रधानाध्यपकको प्रतिवेदनमा देखाइएको छ । स्थान अभावको कारण भक्तपुर नगरपालिकाले उदाहरणीय रूपमा भवन बहालमा लिएर उक्त विद्यालयको कक्षा तथा भाैतिक व्यवस्थापन गरिरहेको छ । सोही अवसरमा विद्यालयका पूर्व प्रअ मधुमैया प्रधानले १८ वटा कुर्सी विद्यालयको लागि सहयोग समेत गर्नुभयो ।

Comments