वी किड्स स्कुलमा चौथो ‘स्कुल ओपन हाउस’ सम्पन्न


चैत २१, २०८२, शनिबार | राति ०८:५९ बजे | 90


वी किड्स स्कुलमा चौथो ‘स्कुल ओपन हाउस’ सम्पन्न

भक्तपुर, २०८२ चैत्र २१ गते — वी किड्स स्कुलले शनिबार चौथो “स्कुल ओपन हाउस” कार्यक्रम आयोजना गरेको छ। “एक्सप्लोर, लर्न र ग्रो” अवधारणालाई आत्मसात गर्दै विद्यालयले बालबालिकालाई कक्षाकोठाभित्र मात्र सीमित नराखी प्रत्यक्ष सहभागितामार्फत सिकाइलाई अगाडि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

विद्यालयका अनुसार ४०० भन्दा बढी अभिभावक तथा आगन्तुकहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा विद्यालयले आफ्ना शैक्षिक अभ्यास, बालबालिकाको सर्वाङ्गीण विकासका लागि तयार गरिएको वातावरण तथा सुविधाबारे जानकारी गराएको थियो।

प्रिन्सिपल मन्जु दुवालले विद्यालयको शैक्षिक तथा भौतिक वातावरण, कार्यक्रमहरू, अभिभावकबीच आपसी भेटघाट, सम्भावित नयाँ विद्यार्थी तथा अभिभावकलाई विद्यालयसँग परिचित गराउने उद्देश्यबारे प्रकाश पारिन्। उनले विद्यालयले प्रदान गर्ने उच्च-गुणस्तरको शिक्षा प्रत्यक्ष अनुभव गराउन र सिकाइ अवधारणाबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताइन्।

कार्यक्रममा विद्यार्थीहरूले पाठ्यक्रमसँग सम्बन्धित शैक्षिक सामग्री, स्थानीय औजार तथा बाजागाजाको प्रदर्शनी गरे। जीवन उपयोगी सिकाइ अन्तर्गत पैसाको महत्व बुझाउन विद्यार्थीहरूले आफ्नै सामान प्रयोग गरी बजार स्थापना गरी अभिभावकसँग लेनदेन गरेका थिए।

सांस्कृतिक प्रस्तुतिमा विद्यार्थीहरूले गीत, नृत्य, नाटकमार्फत आफ्नो प्रतिभा देखाए। उद्घोषण, स्वागत मन्तव्य तथा धन्यवाद ज्ञापन समेत विद्यार्थीहरूले नै गरेका थिए।

अभिभावकहरूले विद्यालयले पाठ्यपुस्तकभन्दा बाहिरका विषयमा पनि विद्यार्थीलाई अध्ययन गराएकोमा प्रशंसा व्यक्त गरे। उनीहरूले विद्यार्थीलाई आत्मनिर्भर बनाउन विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराइएको देखेर खुसी व्यक्त गरे।

कार्यक्रममा बालबालिकाका लागि क्ले वर्क, फेस पेन्टिङ, फोटो स्टेशन, रमाइला खेलहरू तथा फुड स्टलको व्यवस्था गरिएको थियो। सहभागी अभिभावकहरूले विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति मन छुने खालको रहेको प्रतिक्रिया दिएका थिए।

 

फाेटाेमा हेर्नुहाेस्...

वी किड्स स्कुलमा चौथो ‘स्कुल ओपन हाउस’ सम्पन्न
वी किड्स स्कुलमा चौथो ‘स्कुल ओपन हाउस’ सम्पन्न

Comments