GenZ 2.0 द्वारा "बन्द उद्योग पुनः सञ्चालन पहल" — आत्मनिर्भर नेपालतर्फ अर्को ऐतिहासिक कदम


कार्तिक ४, २०८२, मङ्गलबार | साँझ ०४:२९ बजे | 181


GenZ 2.0 द्वारा "बन्द उद्योग पुनः सञ्चालन पहल" — आत्मनिर्भर नेपालतर्फ अर्को ऐतिहासिक कदम

काठमाडौं, कार्तिक ४। GenZ 2.0 (सबै पुस्‍ताको सारथी) राष्ट्रिय अभियानले “आत्मनिर्भरता, रोजगारी र औद्योगिक पुनर्जागरणको अभियान” अन्तर्गत “बन्द उद्योग पुनः सञ्चालन पहल” कार्यक्रम बसबारी छाला उद्योग परिसरमा आज सम्पन्न गरेको छ।

दिउँसो १:३० बजे सुरु भएको कार्यक्रममा विभिन्न पुस्ताका प्रतिनिधि, व्यवसायी, विद्यार्थी, पत्रकार, नागरिक अभियन्ता र उद्योग क्षेत्रका विज्ञहरूको उल्लेखनीय सहभागिता रह्यो।

कार्यक्रममा सहभागीहरूले एक स्वरमा भने, “जहाँ लगानी हाम्रै थियो, सञ्चालनको जिम्मा पनि हाम्रै हो।”
यस घोषणाले देशभित्रै रोजगारी सृजना, उत्पादनमूलक अर्थतन्त्र र औद्योगिक पुनर्जागरणको नयाँ बाटो खुल्ने संकेत दिएको छ।

GenZ 2.0 अभियानका प्रवक्ता अरविन राईले भने,

> “नेपालको माटोमा रोजगारी र सम्भावना दुबै छन्। हाम्रा सीप र लगानी विदेश होइन, आफ्नै मातृभूमिमा प्रयोग गरौं।”

त्यसैगरी सदस्य–सचिव कुन्दन कुशवाले जोड दिए,

> “यो अभियान केवल कार्यक्रम होइन — यो देशभक्त आत्मनिर्भरताको क्रान्ति हो, जहाँ नयाँ पुस्ता नेतृत्वमा उभिएको छ।”

अभियानका संरक्षक तथा परिकल्पनाकार डा. हरि कार्कीले भनेका छन्,

> “GenZ 2.0 ले सबै पुस्तालाई एउटै राष्ट्रिय भावनामा बाँध्दै, उत्पादन र आत्मनिर्भर अर्थतन्त्रको नयाँ अध्याय सुरु गरेको छ। नेपाल अब आशाको दिशामा अघि बढ्दैछ।”

यसअघि, असोज ३१ गते GenZ 2.0 ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा “नेपालले तपाईंलाई पर्खिरहेको छ — तपाईंको आवश्यकता छ” भन्ने सन्देशसहित विदेश प्रस्थान गर्न लागेकाहरूलाई प्रतीकात्मक विदाइ कार्यक्रम गरेको थियो।
त्यो अवसरमा अभियानले “फर्क र नेपाल बनाऔँ”, “तपाईंको सीप देशकै मेरुदण्ड हो” जस्ता प्रेरणादायी सन्देशहरूद्वारा देशभक्त भावनालाई उजागर गरेको थियो।

GenZ 2.0 ले यसअघि पनि “नेपाल सबैका लागि सधैं खुला छ” भन्ने सन्देशसहित विदेशी पर्यटक स्वागत, राहत वितरण, तीनकुने चोकलाई “जेन्जी चोक” नामाकरण, राष्ट्रिय भेला, विज्ञहरूसँग अन्तरक्रिया, र विभिन्न देशभक्त समूहहरूबीच एकताको पहल जस्ता उल्लेखनीय कार्यहरू सम्पन्न गरिसकेको छ।

Comments