नेपालको जेन्जी विद्रोह र माक्सवादी दृष्टिकोण
असोज २४, २०८२, शुक्रबार | विहान ०९:०८ बजे | 245
आ.के. विद्रोही
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले “माक्र्सवाद भनेको पूँजीवादको उत्पति, विकास र पतनको बाटो हो” भन्नुभएको छ । अहिलेसम्मको मानव विकासको इतिहास वर्ग संघर्षबाट गुज्रिएको भन्नुहुन्छ । माक्र्सवाद सर्वहारा श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त हो । माक्र्सवाद एक वैज्ञानिक सिद्धान्त हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंर्घष तथा सशस्त्र क्रान्तिबाट वैज्ञानिक समाजवाद तथा साम्यवादसम्म पुग्ने यसको लक्ष्य हो । माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । यसले पदार्थ, प्रकृतिलाई पहिलो र सामाजिक चेतनालाई दोश्रो स्थानमा राख्दछ । माक्र्सवादमा दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद मूलभूत आधार हुन् । माक्र्सवाद–लेनिनवाद–माओविचारधारा सर्वहारावर्गको मुक्तिको सिद्धान्त हो ।
जेन्जी
सन् १९९७ पछि जन्मिएका २०१२ सम्मका ती युवा जसले डिजिटल युगमा हुर्कँदै देशको राजनीतिक, सामाजिक र आर्थिक विसंगतिलाई प्रत्यक्ष अनुभूति गरेकालाई जेन्जी भनिन्छ । जेन्जीमा बेरोजगारी, अवसरको असमानता, भ्रष्ट्राचार, र दलाल पूँजीवादी राजनीति विरुद्ध असन्तुष्ट भएको देखिन्छ । नेपालमा जेन्जीहरुले सरकारले २६ वटा सामाजिक सञ्जालहरू अवैध भनि प्रतिबन्ध हुन्छ । यो प्रचलन युवा वर्गले अभिव्यक्ति स्वतन्त्रता माथिको आक्रमण ठानेर विरोध गर्छ । सत्ता, राजनीतिक परिवार र शक्तिका पदहरूमा रहेको नेपोटिज्म (पोलिटिसियन्स् चिल्ड्रेन एभ्युजिंग टाइस इटिसी), भ्रष्टाचार र पारदर्शिताको कमीप्रति युवा असन्तुष्ट भई सरकारले ठूला भ्रष्टाचारका मामिलाहरू छानबिन, दोषीहरूलाई कारबाही, सार्वजनिक सम्पत्ति फिर्ता आदि माग गरेको देखिन्छ । नीति निर्माण प्रक्रियामा खुलापन, सरकारी निर्णयहरू किन र कसरी भयो भन्ने कुरा सार्वजनिक रूपमा बुझ्ने अधिकार, बजेट र खर्चबारे जानकारी, जनप्रतिनिधिहरूले जनताको प्रति जवाफदेहिता देखाउने लगायतका मागहरू उठेको देखिन्छ । राजनीतिमा नयाँ युवा पुस्ता, शिक्षित, निष्पक्ष र जिम्मेवार नेतृत्व, नयाँ सोच र सुशासनको माग देखिन्छ । यी मागहरु राखी गरेको जेन्जीको विद्रोह माक्र्सवादी दृष्टिकोणबाट हेर्दा, यो विद्रोह केवल भावनात्मक प्रतिक्रिया मात्र होइन, बरु वर्ग संघर्षको नयाँ रूप देखिन्छ, जसले आधुनिक नेपालको संरचनात्मक अन्याय र आर्थिक असमानतालाई चुनौती दिएको देखिन्छ ।
माक्र्सवादी दृष्टिकोणमा शोषित र शोषक दुई वर्ग बीचको संघर्ष नै ऐतिहासिक परिवर्तनको इन्धन हो । नेपालमा, पूँजी र शक्तिको केन्द्रीकरण राजनीतिक–आर्थिक अभिजात वर्गमा (शासक पार्टीका नेताहरू, ठेकेदार, ब्यापारी, र नौकरशाही समूह) सीमित छ । जेन्जीको असन्तोष यो असमान वितरणर “शोषण प्रणाली” र कानुनी र नीतिगत भ्रष्टाचार विरुद्धको प्रतिक्रियाको रूपमा देखिन्छ । जेन्जीहरू पारदर्शिता, रोजगारी, सामाजिक न्याय, लैङ्गिक समानता, र भ्रष्टाचारविरुद्धको आन्दोलन माक्र्सवादको वर्गीयचेतनासँग मिल्दोजुल्दो देखिन्छ । सिस्टम फेर्ने अथवा व्यवस्था फेर्ने, उत्पादनका साधनमा पहुँच र न्यायपूर्ण समान अवसर साथै श्रमको मूल्य जुन माक्र्सको श्रम मूल्य सिद्धान्तसँग मेल खान्छ । जानेर वा नजानेर अथवा चाहेर वा नचाहेर जेन्जी पुस्ता नयाँ प्रकारको सर्वहारा चेतना बोक्दै आएको देखिन्छ साथै डिजिटल माध्यममा सञ्जाल बनाउँदै, जनचेतनालाई प्रसारित गरेको देखिन्छ ।
माक्र्सवादी दृष्टिबाट जेन्जी विद्रोह वर्गीय चेतनाको उदयले असमानता र अन्यायलाई व्यक्तिगत भाग्य नभई प्रणालीगत समस्या र वैकल्पिक विचारको खोजीले पूँजीवादी “सफलताको भ्रम” भन्दा पनि सहकार्य, समता र सामूहिक हितको मूल्य तर्फ आकर्षित हुनुका साथै सांस्कृतिक विद्रोहले टिकटक, मिमेस कला, र संगीत मार्फत उनीहरूले सांस्कृतिक हेजेमोनीलाई चुनौती दिँदै प्रविधिको उपयोगले डिजिटल माध्यम मार्फत सत्ताको वैकल्पिक समीक्षा र प्रतिरोध सम्भव भएको देखिन्छ । तर माक्र्सवादी दृष्टिकोणले वर्गीय एकताको कमीले विद्रोह भावनात्मक र व्यक्तिगत असन्तोषमा आधारित छ भने संगठित श्रमिक वर्गसँग जोडिन सकेन् । विद्रोहको स्पष्ट विचारधाराको अभावले नयाँ व्यवस्था वा प्रणाली के स्पष्ट भएन । डिजिटल निर्भरताले आन्दोलन भर्चुअल स्पेस मै सीमित हुँदा वास्तविक उत्पादन सम्बन्धमा परिवर्तन ल्याउन सकेनन् । सांस्कृतिक उपभोगको विरोधाभासले पूँजीवादी उपभोग संस्कृतिमा रमाउँदै पूँजीवादविरुद्धको आन्दोलन गर्नु माक्र्सवादी दृष्टिले आत्म विरोध भएको देखिन्छ ।
माक्र्सवादी दृष्टिबाट हेर्दा, नेपालका जेन्जी युवाहरूले आर्थिक र सामाजिक अन्याय प्रति प्रतिरोधको चेतना जागृत गरेको छ । तर यो चेतनाले क्रान्ति वा स्थायी परिवर्तन ल्याउनको लागि वर्गीय संगठन, वैचारिक अनुशासन र उत्पादन सम्बन्धमा ठोस हस्तक्षेप आवश्यक देखिन्छ । जेन्जीको विद्रोहले पूँजीवादी, दलाल र पुरातन सत्ताको जग हल्लाएको देखिन्छ, तर अझै नयाँ समाज निर्माणको वैचारिक नक्सा स्पष्ट देखिदैन । नेपालको जेन्जी आन्दोलनलाई माक्र्सवादी दृष्टिबाट हेर्दा, यो वर्गीय सचेतनाको प्रारम्भिक झिल्को हो — जसले पूँजीवादी संरचनालाई प्रश्न त गरेको छ, तर अझै त्यसको वैज्ञानिक विकल्प निर्माण गर्न बाँकी देखिन्छ ।