योग केन्द्रको विकासका लागि ५० लाख विनियोजन


भदौ ८, २०८२, आइतबार | राति ०७:४० बजे | 240


योग केन्द्रको विकासका लागि ५० लाख विनियोजन

सागर गुरागाईं
मध्यपुर थिमि – बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले योग साधना केन्द्रको संस्थागत विकासको लागि बागमती प्रदेश सरकारले चालु आ.व.मा ५० लाख बजेट विनियोजन गरेको जानकारी दिनुभएको छ । पतञ्जली योग समिति भक्तपुरको १९ औं स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री थापाले उक्त जानकारी दिनुभएको हो । प्रत्येक व्यक्तिको शारीरिक, मानसिक विकासका लागि योग, ध्यान, साधना र प्राणायाम जरुरी रहेको भन्दै प्रत्येक टोल, घरपरिवार र व्यक्ति व्यक्तिले योगको उद्देश्य र महत्व बुझेर नियमित योगाभ्यास गर्नुपर्नेमा जोड दिदैं स्वास्थ्य मन्त्री थापाले बागमती प्रदेश सरकारले मेरो स्वास्थ्य मेरो जिम्मेवारी, दिनको १ घण्टा स्वास्थ्यको लागि भन्ने नारालाई सार्थक बनाउन सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । स्वास्थ्य मन्त्री थापाले बागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लामा ८ सय ४८ विद्यालय नर्स मार्फत पनि योगाभ्यास गराउने तयारी गरिरहेको जानकारी दिनुभयो । स्वास्थ्य मन्त्री थापाले स्वास्थ्य जस्तो संवेदनशीले विषयमा सबै व्यक्ति सचेत र सर्तक हुनुपर्नेमा जोड दिदैं खानपान र व्यायाममा ध्यान दिन सबैसँग आग्रह गर्नुभयो । पतञ्जली योग समिति भक्तपुरका अध्यक्ष नित्यनाथ श्रेष्ठको सभापतित्वमा भएको उक्त बागमतीप्रदेशकी सांसद शकुन्तला श्रेष्ठ, पतञ्जलीयोग समिति नेपालकी साध्वी देवकृपा, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, पतञ्जली योग समिति नेपालका केन्द्रिय प्रभारी ललित शंकर योगी, योग गुरु लवराज भट्ट, पतञ्जली योग समिति बागमती प्रदेशका प्रमुख ग्रोविन तौजले लगायतका अतिथि महानुभावहरुले भक्तपुर जिल्लाको योगको विकास र विस्तार सम्बन्धी छोटो जानकारी सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पतञ्जली योग समिति चाँगुनारायण नगरसमितिलाई योग केन्द्र विस्तार गरि १७ वटा संचालन गरेकोमा विशेष सम्मान गरिएको थियो । कार्यक्रममा मध्यपुर योग साधना केन्द्रलाई पनि सम्मान गरिएको थियो । मध्यपुर थिमिको शंखधर बैंक्वेटमा भएको उक्त १९ औं स्थापना दिवस कार्यक्रमको उद्देश्य, महत्व सहित भक्तपुरको योगको विकास र विस्तारमा योगदान दिएका सबै योगीहरुलाई धन्यवाद दिदैं कार्यक्रमका सभापति नित्यनाथ श्रेष्ठले योगाभ्यास गर्न व्यवस्थित एवं ठुलो हलको व्यवस्था गरिदिन स्थानीय सरकार एवं प्रदेश सरकारसँग आग्रह गर्नुभयो । पतञ्जली योग समिति भक्तपुरका महामन्त्रीद्धय बलराम मैनाली र शान्ता मैनालीले संचालन गर्नुभएको उक्त कार्यक्रममा संचिता बाटी र प्रज्ञा गौतमले योगका विभिन्न कठिन आसनहरु प्रदर्शन गरेर उपस्थित सबैलाई मन्त्रमुग्ध बनाउनु भएको थियो । बालकुमारी योगसाधना केन्द्रको संयोजनमा भएको उक्त कार्यक्रममा भक्तपुर जिल्लाका ४ वटै नगर योग साधना केन्द्रबाट सयौंको संख्यामा योगकर्मीहरुको उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथि मन्त्रि थापाले रक्तदान गर्ने योगकर्मी एवं ४ वटै नगरका नगरप्रमुखहरुलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो । भक्तपुरको मध्यपुर थिमि नगर समितिका अध्यक्ष तुल्सीकृष्ण श्रेष्ठ, सुर्यविनायक नगर अध्यक्ष रत्नलाल श्रेष्ठ, चाँगुनारायण नगरअध्यक्ष बालचन्द्र थापा लगायतलाई सम्मान पत्र प्रदान गरिएको थियो । पतञ्जली योग समिति भक्तपुरकी महिला अध्यक्ष सुनिता श्रेष्ठले भक्तपुरको योगको विकास र विस्तारमा महिलाहरुको सहभागिता उत्साहजनक रहेको जानकारी दिदैं प्रमुख अतिथि, अतिथि लगायत सम्पूर्ण योगकर्मीहरुलाई स्वागत गर्नुभएको थियो । 
 

Comments