सन्दर्भ : धार्मिक कार्यमा सव्य र अपसव्यको हुनुको अर्थ


2025-04-07 08:41:00

News Image

सुनील सापकोटा

कौसलटार फोन:९८४२०२६२३४

श्राद्ध तथा देवपूजा कर्म गर्दा जनैलाई दायाँ - बायाँ काँधमा सारी सब्य र अपसब्य भइ किन धार्मिक कार्य गरिएको होला भनेर मैले केही मेरा मित्रहरुलाई प्रश्न गर्दा धेरैले स्पष्ट रुपले बताउन नसक्नु भएकाले यहाँ मैले जाने बुझेको कुरा राख्ने प्रयास मात्र गरेको हुँ। म कुनै बिज्ञ चाहिँ होइन् । पूजामा देवताहरूको आह्वान गर्दा जनै सव्य रूपमा राखिन्छ। दायाँ दिशालाई पवित्रता प्रकाश र जीवनको प्रतीक मानिन्छ। यसले आशिर्वाद र सकारात्मक शक्ति तर्फ उन्मुख भाव दर्शाउँछ। श्राद्ध वा मृत्यु सम्बन्धी क्रियाकलापमा जनै अपसव्य बनाइन्छ। बायाँ दिशा अन्धकार, मृत्यु र परलोकको प्रतीक हो भन्ने धार्मिक मान्यता छ। यसले बिछोड, तृप्तिको आवश्यकता र पितृलोक तर्फ को झुकाव देखाउँछ। यो एक प्रतीकात्मक दृष्टि हो। हिन्दू धर्ममा देवता र पितृ फरक अस्तित्वका प्रतिनिधि हुन्। देवताहरु सदैव सकारात्मक र प्रकाश दायक शक्तिको प्रतिनिधित्व गर्छन्। जसका लागि सव्य प्रयोग गरिन्छ। पितृ विलीन आत्मा वा मृतककोअस्तित्व भएका कारण तिनीहरूलाई सम्झँदा अपसव्य स्थिति लिइन्छ। यो कर्मको दृष्टि हो। कर्मकाण्डमा संकेतहरू, दिशा र मुद्राहरू ,अत्यन्त महत्त्वपूर्ण हुन्छन्। जनैको दिशा एउटा मानसिक अवस्था र कर्मको उद्देश्य देखाउने संकेत हो। वैदिक ग्रन्थहरू, विशेषतः "श्रौतसूत्र" र "गृह्यसूत्र"हरूमा यसरी जनैको सव्य–अपसव्य प्रयोगका नियमहरू उल्लेख छन्। मृत्यु, तर्पण, श्राद्ध जस्ता कार्यहरू "नैष्ठिक" (गम्भीर र अन्तिम) मानिन्छन्, त्यसैले त्यसमा अपसव्यको प्रयोग हुन्छ।सव्य अवस्था देवताको पूजा र आशीर्वादका लागि हो। अपसव्य अवस्था पितृको तर्पण र तृप्तिका लागि प्रयोग गरिन्छ। यसलाई अर्को शब्दमा भन्नू पर्दा दायाँ काँधमा जनै र बायाँ काँधमा जनैको प्रयोगको अर्थ दायाँ काँधमा जनै राख्नाले देवताको प्रतिनिधित्व गर्छ र सूर्य नाडी दैवीय शक्तिको सक्रियता र यज्ञ देवताको कर्म सँग जोडिन्छ भन्ने मान्यता छ । अनि जनै दायाँ काँधमा हुँदा यो ब्रह्माण्डको रचनात्मक शक्ति (ब्रह्मा, विष्णु, शिव) को आह्वान पनि हो भन्छन् । जस्को उद्देश्य देवताहरूको आशीर्वाद र धार्मिक शुद्धता प्राप्त गर्नु हो अरे। अपसब्य (बायाँ काँध जनै ) राख्दा पितृको प्रतिनिधित्व हुन्छ। बायाँ पक्ष चन्द्र नाडी शान्ति, पितृलोक र मृत्युपछिको संसार सँग सम्बन्धितछ । यो श्राद्ध कर्म गर्दा जनै बायाँ काँधमा सारिए पछि पितृहरूको लागि समर्पित हुन्छ। पितृहरूको आत्मालाई तृप्त पार्ने र उनीहरू को शान्तिको लागि प्रार्थना गर्दा गरिने एक प्रचलन हो यो। यस्तो विभाजन ऊर्जाको प्रवाह नियन्त्रणको लागि हो। हिन्दू मान्यता अनुसार दायाँ पक्ष (सूर्य) ले तेज, जागृत अवस्थालाई र बायाँ पक्ष (चन्द्र) ले शान्ति र स्मृतिको प्रतिनिधित्व गर्छ। श्राद्धमा पितृहरूको आत्मालाई प्राथमिकता दिन बायाँ पक्ष सक्रिय गरिन्छ। धन्यवाद

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *