सूचक प्रकाशनद्वारा केदारनाथ श्रेष्ठ दम्पतीलाई वैवाहिक ६० वर्षे हिरक महोत्सवको अवसरमा ‘शिखर अभिनन्दन
फाल्गुन २९, २०८१, बिहीबार | विहान ०५:४० बजे | 15
जयराम बिडारी
फागुन, काठमाण्डौ स्वास्थ्य,शिक्षा,तथा साहित्यको क्षेत्रमा उल्लेखनीय योगदानका आधारमा शिक्षासेवी तथा साहित्यकार दम्पती केदारनाथ श्रेष्ठ तथा उहाँकी धर्मपत्नी लीलादेवी श्रेष्ठलाई सूचक प्रकाशनको आयोजनामा ‘शिखर अभिनन्दन २०८१द्वारा’ सम्मानित गरिएको छ । एक विशेष कार्यक्रमका बीच श्रेष्ठ दम्पतीको वैवाहिक ६० वर्षे हीरक महोत्सवको अवसर पारेर सूचक प्रकाशन सँगको सहकार्यमा लोमश वाङ्मय प्रतिष्ठान, शब्दयात्रा प्रकाशन,गुञ्जन नारी साहित्य संस्था, दियो पाउण्डेशन,नारी साहित्य प्रतिष्ठान, सलोन फाउण्डेशन नेपाल,क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार कोष,विश्व साहित्य प्रकाशन संघ,माईण्ड प्लस र श्रष्टा पदयात्रा नेपाल लगायत एघार संघ संस्थाको सहभागितामा श्रेष्ठ दम्पतीलाई संयुक्त रुपमा “ शिखर अभिनन्दन ” गरिएको थियो । उक्त अवसरमा सूचक प्रकाशनद्वारा प्रकाशित तथा बुलु मुकारुङ द्वारा लिखित शिक्षाविद् केदारनाथ श्रेष्ठ तथा साहित्यकार, लीलदेवी श्रेष्ठका जीवनगाथामा आधारित पुस्तक ‘प्रेम,त्याग र समर्पण’ दोस्रो संस्करण शिखर अभिनन्दन समारोहमा सहभागिता जनाएका एघार संघ संस्थाका प्रतिनिधिले एकसाथ विमोचन गरेका थिए । कार्यक्रममा पटक पटक मृत्युको मुखमा पुगेर पनि नाफाको जिन्दगी बँच्न सफल भएको आफुहरुलाई शुभकामना दिएर हौसला प्रदान गर्न पाल्नु भएका सम्पूर्ण अभ्यागतहरुमा हार्दिक आभार व्यक्त गर्दै केदारनाथ श्रेष्ठले भावुक अभिव्यक्ति दिंदै एक गीत समेत गाएर कार्यक्रमलाई उल्लामय बनाउनु भएको थियो । सो समारोहमा श्रेष्ठ दम्पतीको ६० औं वैवाहिक बर्ष प्रवेशको अवसरमा वरिष्ठ नाट्यकर्मी मदनदास श्रेष्ठ,प्रा. डा. गोविन्दमान सिंह कार्की, गुञ्जन नारी साहित्यिक संस्थाकी अध्यक्ष जलेश्वरी श्रेष्ठ तथा लेखक साहित्यकार बुलु मुकारुङ र दिलिप श्रेष्ठले आ-आफ्ना तर्फबाट सतायुको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा लीलादेवी श्रेष्ठले आफ्नो मृगौला समेत दान दिएर बचाउन सफल भएको आफ्ना पतिको दीर्घायुको कामना गर्दै साई भजन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपस्थित भएका सवैले श्रेष्ठ दम्पतीलाई खादा ,माला तथा दोसल्ला ओढाएर बधाई तथा शुभकामना दिएका थिए भने श्रेष्ठ दम्पतीद्वारा संस्थागत सहकार्य गर्ने संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लागायत मिडियाकर्मी तथा साहित्यकार हरुलाई खादा लगाई सम्मान गरिएको थियो । उक्त भव्य कार्यक्रममा उपस्थित भएका करिव ३५० जति पाहुना हरुका बीच पण्डित नारायण प्रसाद घोरासैनीद्वारा स्वस्ति वाचन गरी श्रेष्ठ दम्पतीले एकआपसमा दुवोको माला लगाइदिएर औंठी साटासाट गरी रोमञ्चक र उल्लसमय वातावरण निर्माण गरिएको थियो । सो समारोहमा श्रेष्ठ दम्पतिलाई प्रदान गरिएको ‘शिखर सम्मान’ माइण्ड प्लसका प्रवन्ध निर्देशक नवीन पल्लव द्वारा वाचन गरि मंगल धुनका साथै तालीको गडगडाहटका साथ समर्पण गरिएको थियो । यसैगरि लेखक साहित्यकार बुलु मुकारुङलाई समेत सम्मानित गरिएको थियो । सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल ‘दीपसागर’द्वारा सहजीकरण गरिएको उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको थियो । कार्यक्रममा पश्चात उपस्थित अभियागतहरु सामूहिक रुपमा प्रिती भोजमा सम्मिलित भएका थिए ।