घटनाको भोलिपल्ट खुल्यो मृतकको पहिचान
साउन ३२, २०८१, शुक्रबार | विहान १०:३१ बजे | 50
भक्तपुर । प्रहरीले बिहीबार दिउँसो १३ः४० बजेको समयमा भएको दुघटना परी मृत्यु भएको व्यक्तिको नाम शुक्रबार सार्वजनिक गरेको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ गठ्ठाघर स्थितमा काठमाण्डौंबाट भक्तपुरतर्फ आँउदै गरेको ना. ६ ख. २१७३ नं.को ट्रकले सोही दिशातर्फ जादै गरेको बा. ४९ प. ८९४४ नं. को स्कुटीलाई ठक्कर दिदाँ स्कुटी चालक ओखलढुंगा चिशंखुगढी गाँउपालिका वडा नं. ४ खहरे घर भई हाल काठमाण्डौं कपन सरस्वतीनगर बस्ने बर्ष ६५ को उत्तम कोईरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी लाश पोष्टमार्टमको लागि सोही दिन १६ः४५ बजे टिचिङ अस्पताल काठमाण्डौ लगेको थियो । दुर्घटना भएको सवारी ट्रक काठमाण्डौ उपत्यका प्रहरी सशस्त्र प्रहरी गण नं. २ महाराजगन्ज, काठमाण्डौमा राखिएको छ । ट्रक चालक सर्लाही मलंगवा नगरपालिका वडा नं. २ बस्ने बर्ष ३२ को मलङ सतेन्द्र श्रेष्ठ प्रहरीको नियन्त्रणमा रहेको छ । स्कुटर वृत्त ठिमीमा राखिएको छ ।
उक्त सवारी दुर्घटनाको विषयलाई लिई स्थानीय तथा सडकमा हिडेका मानिसहरुको भीडले विरोध तथा हुलदंगा गरेको हुँदा घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्र.उ. बेद बिष्टको कमाण्डमा ११८ जनाको प्रहरी टोली खटिगएको, काठमाण्डौस्थित नेपाल प्रहरीका विभिन्न कार्यालयहरुबाट १३० जनाको थप टोली र सशस्त्र प्रहरीको १२० जनाको प्रहरी टोली समेत खटिई २२ राउण्ड अश्रुग्यास हवाई फायर गरी हुलदंगाको भीडलाई साम्य पारिएको थियो ।
घटनामा जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख प्र.उ. बेद बिष्ट, परिसर भक्तपुरमा कार्यरत प्र.स.ह. बहादुरे राउत र जिल्ला भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नं. ३ गठ्ठाघर बस्ने बर्ष सौगात सापकोटा समेत सामान्य घाइते भएकोमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको थियो । गठ्ठाघर स्थितमा सडक विचमा रहेको ट्राफिक आईल्याण्ड र छेउमा रहेको प्रहरी विट सोही भीडले आक्रमण गरी विटमा रहेको टेबल थान १, प्रहरी ह्याण्डसेट थान १ र चार्जर थान १ समेत क्षती पु¥याएको थियो । घटनाको सम्बन्धमा अन्य थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।