केटी जिस्क्याई फेसबुकमा हाल्ने केटाहरु पक्राउ
मंसिर ४, २०७७, बिहीबार | दिउँसो ०२:३९ बजे | 5
भक्तपुर । बाटोमा हिडिरहेकी निकिशा श्रेष्ठलाई भक्तपुरको सडकमा जिस्काएर हैरानी गरेको भिडिया फेसबुकमा राख्ने तीनजना केटाहरुलाई भक्तपुर प्रहरीले विहीरबार पक्राउ गरेको छ । भक्तपुर नगरपालिका १ स्थित सडकमा जिस्काएर लैंगिक भेदभावपूर्ण शब्दहरु प्रयोग गरी अनावश्यक हैरानी गरी भिडियो समेत बनाई सामाजिक सञ्जालमा पोष्ट गरेका उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका प्रनि.सुदन के.सीको कमाण्डमा खटिएको अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए । उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा भक्तपुर जिल्ला भक्तपुर नगरपालिका १ बस्ने बर्ष १९ को सफिल खत्रीले स्कुटर चलाएको र स्कुटर पछाडि सवार भक्तपुर नगरपालिका ५ टौमढी बस्ने बर्ष १६ को बालकले भिडियो खिचेको र भक्तपुर नगरपालिका ५ टौमढी नै बस्ने बर्ष १७ को बालकले सामाजिक सञ्जालमा उक्त भिडियो अपलोड गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । साथै पिडितसंग पनि समन्वय गरी थप अनुसन्धान तथा कारवाही समेत भइरहेको परिसरले जनाएको छ । मंगलबार उक्त भिडियो राखेपछि सामाजिक सञ्चालनमा भाइरल बनेको थियो ।