फेरि बाहिरियो डा इवामुरा अस्पतालको लापरबाही


साउन ४, २०८१, शुक्रबार | विहान ०८:४५ बजे | 5


फेरि बाहिरियो डा इवामुरा अस्पतालको लापरबाही

भक्तपुर । भक्तपुरको डा इवामुरा मेमोरियल अस्पताल सल्लाघारीको लापरवाहीले एक जनाको ज्यान गएको विषय गुपचुप पारिएको तथ्य सार्वजनिक आएको छ । मुटु सम्बन्धी समस्याको उपचार गर्न गएकी एक महिलाको ज्यान गएको अस्पतालले गुपचुप पारेको तथ्य खुलेको हो ।
घटना विवरण अनुसार भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ५ खरिपाटीमा क्यान्टिन संचालन गर्दै आएकी वर्ष ३६ की कविता सुनारको उपचार अस्पतालमा सुरु गरिएको थियो । असार २५ गतेबाट अस्पतालमा उपचार सुरु भएको जनाइएको छ । पछि अस्पतालले काठमाडौंको एक निजी अस्पतालमा रिफर गरिएको थियो । त्यहाँंबाट पुनः इवामुरामै फर्काएर उपचार गरेको थियो । 
इवामुराले गलत उपचार गरेको र नेपालको एकमात्र सरकारी मुटुरोग अस्पताल शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा रिफर नगरी निजी अस्पतालमा पुरयाई फेरि इवामुरामै बिरामी फर्काउन लगाई उपचार गरेकाले बिरामीको ज्यान गएको आरोप आफन्तको छ । यस विषयमा उनीहरु आन्दोलित समेत भएका थिए ।
दुई बच्चाकी आमा सुनारको मृत्यु भए पश्चात् मृतकका आफन्तले डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भनी शव बुझ्न नमान्दा अस्पताल प्रशासन र आफन्तबीच प्रहरी प्रशासनको रोहबरमा वार्ता भएको थियो । जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा पीडित परिवारलाई ६ लाख रुपैया दिन र मृतकका २ बच्चालाई उच्च शिक्षासम्म पढाइको व्यवस्था गरिदिन अस्पताल मन्जुर भएको थियो । गल्ती स्वीकार गरी सहमति भएको भनिए पनि त्यो विषय अहिले खुलेको हो । सहमतिपछि परिवारले शव बुझेको थियो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजुमृगेन्द्र जोशीले डाक्टरको लापरबाहीले मृत्यु नभएको स्पष्ट पारे । उपचारका लागि अर्काे अस्पतालमा रिफर गरिएको तर खर्च अभाबमा आफनै अस्पतालमा ल्याएर उपचार भइरहेको उनले जनाए । 
केही समय अघि इन्डोस्कोपी गर्न आफै हिडेर इवामुरा मेमोरियल अस्पताल पुगेका भक्तपुर ७ का ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको पनि अस्पतालको लापरवाहीले मृत्यु भएको थियो । त्योबेला पनि त्यहाँं पीडितकोतर्फबाट ठूलो आन्दोलन भएको थियो । 

Comments