यस्तो छ दुवाकोट मोडको आगलागीको क्षति विवरण ः दुईजना घाइते
बैशाख २३, २०८१, आइतबार | विहान ११:१५ बजे | 30
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट मोडमा आइतबार विहान आगलागी भएको छ । स्थानीय सन्तोषमान श्रेष्ठले संचालन गरेको ज्योति प्लाई कार्पेट कारखानामा अचानक आगलागी भएको हो । खबर प्राप्त हुना साथ तत्कालै ४७ जनाको नेपाल प्रहरी टोली, शसस्त्र प्रहरी बल दुवाकोट भक्तपुरबाट १३ जनाको टोली, भक्तपुर, काठमाडौ, ललितपुर र काभ्रेबाट ७ वटा दमकल, भक्तपुर, ललितपुरबाट ४ वटा पानी ट्याङकर र स्थानीयहरूको सहयोगमा विहान ४ः०० बजेको समयमा आगलागी नियन्त्रणमा लिएता पनि हाल उक्त स्थानमा धुवाँ आईरहेकोले दमकल र स्काईभेटरको सहयोगमा निभाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
आगो निभाउने क्रममा रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुर दुवाकोट बस्ने वर्ष २३ को बुद्वनारायण श्रेष्ठ सामान्य घाईते भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । साथै भारत बंगाल घर भई हाल सोही स्थानमा काम गर्ने वर्ष २९ को मनु उर्वा गम्भिर घाइते भई डा.ईवामुरा अस्पताल लगिएकोमा थप उपचारको लागि राति नै कीर्तीपुर अस्पतालमा लगिएको परिसरका सूचना अधिकृत राजन कार्कीले जनाए । उक्त आगलागीमा जम्मा अन्दाजी मूल्य एक करोड असी लाख बराबरको क्षेती भएको अनुमान गरिएको छ । घटनास्थलमा प्रहरी वृत ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य भइरहेको जनाइएको छ । आगलागी राति १२ः०८ बजेको समयबाट सुरु भएको जनाइएको छ ।