शिक्षक कुटेकाे आराेपमा सापकोटा पक्राउ
बैशाख ९, २०८१, आइतबार | दिउँसो ०३:४३ बजे | 5
सिन्धुपाल्चाेक, ९ वैशाख । अत्याधिक मादक पदार्थ सेवन गरेर शिक्षक कुटेकाे आराेपमा पूर्व प्रध्यानाध्यापक समेत रहेका मनोज सापकोटा भन्ने मोहनप्रसाद सापकोटा पक्राउ परेका छन् ।
अत्याधिक मादक पदार्थ सेवन गरेका सापकाेटा सिन्धुपाल्चाेककाे चौतारा साँगाचोकगढी नगरपालिका ५ स्थिति श्री कृष्ण रत्नगंगा माद्यामिक विद्यालयमा प्रवेश गरि साेही विद्यालयका शिक्षकहरू हरिगोपाल श्रेष्ठ, राजेन्द्र श्रेष्ठ र राजु पराजुली गाली गलाैज गर्दै अपशब्द प्रयोग गरी हातपात गरेकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईले अत्यधिक मादक पदार्थ सेवन गरि अपशब्द प्रयोग गर्दै शिक्षकहरूलाई हातपात समेत गरेकाेले सापकोटालाई नियन्त्रणमा लिएकाे जनाएकाे छ ।
सापकोटा स्थायी शिक्षक समेत हुन् भने सेतिदेवी माविमा माओवादी केन्द्रकाे बलमा केही समय प्रधानाध्यापक समेत रहेका थिए । प्रधानाध्यापक रहेकै बेलामा याेग्यता नपुगी प्रधानाध्यापक बनेपछि अख्तियार परेकाे थियाे । पछि उनले पार्टीकाे बलमा सरूवा राेजेर वनदेवी मावि, चौतारामा गएका थिए । साेही विद्यालयमा उनकाे कार्यकाल खासै राम्राे नभएकाे र उनकाे कारण विद्यालय पहिलेकाे भन्दा निकै खस्केकाे विद्यार्थी तथा विद्यालयका शिक्षकहरू स्वीकार्छन् ।
उनकी श्रीमती सरस्वती घिमिरे कृष्ण रत्नगंगामै अध्यापन गर्छिन् । शिक्षीका घिमिरे विद्यालयकै अर्को कोठामा रहेकै समयमा सापकोटाले तीन जना शिक्षक माथि हातपात गरेको प्रहरीले जनाएको छ ।
सापकोटालाई पक्राउ गरि प्रहरी नियन्त्रणमा लिँदा प्रहरीमाथि पनि अभद्र व्यवहार र अपशब्द प्रयोग गरेको प्रनाउ भट्टराईले बताए ।
पिडीत शिक्षकहरूको उजुरी पछि थप कारबाहीको प्रकृया अगाडि बढाईने प्रहरीले जनाएकाे छ ।सापकोटा सिन्धुपाल्चोक जिल्लाबाट सञ्चालन हुने फरकपत्रीका अनलाइनका सम्पादक समेत हुन् ।