ताथलीमा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु
फाल्गुन २९, २०८०, मङ्गलबार | दिउँसो ०२:०१ बजे | 25
ताथली । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा रहेको ताथली ईको भ्याली रिसोट नजिकै रहेको खाली जग्गामा वाल लगाउनको लागि जग खन्ने क्रममा अचानक माटोको ढिस्को खस्न गई मंगलबार एकजना किशोरको मृत्यु भएको छ । मकवानपुर भीमफेदी गाउँपालिका वडा नं. ६ उर्लाबारी घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ९ हलाल गाँउ बस्ने वर्ष १६ को जसन स्याङतान माटोको ढिस्कोले पुरिएको मृत्यु भएको हो । खबर प्राप्त हुनसाथ तत्काल प्रहरी प्रभाग सुडालबाट प्र.ब.ना.नि को कमाण्डमा प्रहरी टोली खटिई गई उद्धार गरी उपचारको लागि ख्वप अस्पताल च्यामासिंह लगेकोमा उपचारकै क्रममा दिउँंसो दुई बजे मृत्यु जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।