कटुञ्जे घटना ः पीडित माइतीपक्षले भन्यो, हत्यारा पता नलगाई लाश बुझ्दैनौं
मंसिर २७, २०८०, बुधबार | दिउँसो १२:४१ बजे | 45
भक्तपुर । भक्तपुरको कटुञ्जे निवासी एक महिलाको हत्या भएको आरोप लगाइएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ५ कटुञ्जेस्थित ४३ वर्षकी मायादेवी बसु शाक्यको हत्या गरेको आरोप माइती पक्षले लगाएको हो ।
यही कारण लाश माइतीपक्षको आफन्तजनले बुझेका छैनन् । हत्याराको पता नलागेसम्म लाश बुझी नलिने अडानमा उनीहरु छन् । लाश हाल काठमाडौं मेडिकल कलेज केएमसी अस्पताल दुवाकोट भक्तपुरमा राखिएको छ ।
घटना विवरण अनुसार मायादेवी बसु शाक्यको पछिल्लो आइतबार मृत्यु भएको थियो । बताइए अनुसार मृतक मायादेवी आफनै श्रीमान ६१ वर्षिय दानकाजी शाक्यसँंग सुतिरहेको बेला मृत्यु भएको थियो । केही नभएको मानिस एक्कासी मृत्यु हुनु अस्वभाविक भएको भन्दै पीडितका परिवार (माइतीतर्फ) ले हत्याको आरोप लगाएको हो ।
मृतकका पिता भक्तबहादुर बसुले श्रीमानसँंग सुतिरहेको अवस्थामा भएको छोरी मायादेवीको मृत्यु स्वभाविक मृत्यु नभइ हत्या भएको हुनसक्ने बताए । मृतक छोरीको शरिरमा निल डाम भएको र मुखमा घाउ भएकाले पनि घटना संकास्पद भएको उनको आरोप हो । उनका अनुसार पोष्ट मार्टम रिपोर्टमा बेलुकाको खाना नै नपचेको अवस्थामा उनको मृत्यु भएको रिपोर्ट देखाइएको छ । बेलुकाको खाना नै नपचेको अवस्थामा मृत्यु हुनुले राति १०, ११ बजे नै हत्या भएको आशंका छ, पीडितका पिता भक्तबहादुरले भने ।
मृतकका पति ६१ वर्षिय दानकाजी शाक्यलाई जिल्ला प्रहरी कार्यालय भक्तपुरले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । (तस्वीर मृतक मायादेवीको हो)
फाेटाेमा हेर्नुहाेस्...