आठ कैदीवन्दी अझै पक्राउ परेनन् ः खोजी कार्य जारी
भदौ ५, २०८०, मङ्गलबार | दिउँसो १२:५५ बजे | 10
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका २ सानोठिमीस्थित बालसुधार गृहबाट सोमबार भागेका दुई सय २१ जना कैदीवन्दीमध्ये आठ जनाको खोजी कार्य प्रहरीले अझै जारी राखेको छ । फरारमध्ये सोमबार साँंझसम्म एक सय ९४ जना पक्राउ परेका थिए । सोही दिन रातिसम्म थप १७ जना पक्राउ परेका थिए । यस हिसावले १० जना फरार बाँंकी रहेका थिए । तीमध्ये मंगलबार साँंझसम्म अझै ८ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले मंगलबार साँंझसम्म आठ जना अझै फररा रहेको जानकारी गराए । उनीहरुको खोजी कार्य निरन्तर जारी रहेको उनले जानकारी गराए ।
बालसुधार गृहमा कैदी जीवन विताइरहेका मन्थली नगरपालिका–३, कठजोरका वर्ष १८ का कमल बस्नेतको आइतबार रहस्यमय मृत्यु भएको थियो । बेहोस भएपछि अस्पताल लगिएका उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । मृत्युपछि आफन्तले आइतबारदेखि बाल सुधार गृहको गेट अगाडि विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा सोमबार स्थिति तनावपूर्ण बनेको थियो । बालसुधार गृह गेट बाहिर पीडितका आफन्तहरुले र भित्री कैदीवन्दीहरुले विरोध गर्दै रहेको थियो । सोमबार कैदीवन्दीले आन्दोलनलाई उग्र बनाउँंदै मुल जवरजस्त गेट बाहिर आएका थिए । यस क्रममा प्रहरीले रोक्ने प्रयास गरेको थियो । त्यसपछि कैदीबन्दी र प्रहरीवीच झडप भएको थियो । यस क्रममा सुरक्षार्थ खटिएको प्रहरीले गोली चलाएको थियो । गोली प्रहार गरेपछि अझ आक्रोशित हुँदै कैदीबन्दीले प्रहरीलाई लखेटेर बाहिर निस्केर भागेका थिए ।
झडपमा परी प्रहरीतर्फ १९ जना र बालबन्दीतर्फ दसजना गरी कुल २९ जना घाइते भएका थिए । उनीहरुको विभिन्न अस्पतालहरुमा अहिले पनि उपचार भइरहेको छ ।
भक्तपुर प्रहरी परिसरले जनाए अनुसार प्रहरीतर्फका घाइते नागरिक अस्पतालमा दुईजना, भक्तपुर अस्पतालमा दुईजना, भक्तपुर ईन्टरनेश्नल अस्पतालमा दुई जना, मध्यपुर अस्पतालमा पाँंच जना, सशस्त्रको नागरिक अस्पतालमा आठजना गरी कुल १९ जनाको उपचार भइरहेको छ । यस्तै वन्दी बालबालिकातर्फ नागरिक अस्पतालमा सात जना, ट्रमा सेन्टरमा तीन जना गरी कुल दस जनाको उपचार भइरहेको छ ।