चोरी गरेर भाग्दै गरेका ३ जना कमेरोटारबाट पक्राउ
साउन ५, २०८०, शुक्रबार | दिउँसो ०३:०८ बजे | 20
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं.५ कमेरोटारस्थित नेपाल टेलिकमको कम्पाउण्डभित्रबाट नेपाल टेलिकमको ५०० मिटर केवल तार चोरी गरी लिई भाग्दै गरेका तीनजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । उनीहरुलाई चोरीको सामानसहित पक्राउ गरी चोरी कसुरमा अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । पक्राउ पर्नेहरुमा दोलखा तामाकोशी गा.पा.वडा नं.१ घर भई हाल हर्षचोक बस्ने बर्ष १८ को राकेश खड्का, दोलखा तामाकोशी गा.पा.वडा नं.१ घर भई हाल हर्षचोक बस्ने बर्ष १९ को राजेश खड्का र दोलखा शैलुङ गा.पा.वडा नं.७ घर भई हाल हर्षचोक बस्ने बर्ष १८ को सरोज बुढाथोकी रहेका छन् । साथै सोही कसुरको अनुसन्धानको क्रममा थप ४ जना मानिससमेत नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।