यस्तो भएको रहेछ निकोसेराको घटनामा
भदौ २७, २०७७, शनिबार | विहान ०३:३९ बजे | 45
भक्तपुर । मध्यपुर नपा–९ निकोशेरामा पूरै परिवार मृत फेला परेको चौविस घन्टा नबित्दै प्रहरी अनुसन्धान करीब निष्कर्षमा पुगेको छ। ३६ वर्षीय सुदीप अधिकारीले ‘व्यवहार बिग्रेपछि’को तनाव झेल्न नसक्दा पत्नि, एक्ला छोराको विष र हतियार प्रयोगबाट हत्यापछि आफ्नैसमेत ज्यान सकेको प्रारम्भिक अनुसन्धानबाट देखिने प्रहरी बताउँछ।
निकोशेरा सडकमै जोडिएको एक नाले तीन तले घरको दोस्रोमा १६ वर्षे छोरा सुशान्त, तेस्रोमा ३४ वर्षे पत्नि सम्झना र चौंथो तलाको भान्छामा सुदिप आफ्नै शव फेला परेको थियो। शुसान्त र सम्झनाको शवको प्रकृति हेर्दा ४० घन्टा एवम् सुदिपको चाहिँ करीब २० घण्टाअघि मात्रै मृत्यु भएको देखिने अनुसन्धान टोलीमा संलग्न फरेन्सिक विज्ञको अनुमान छ। मृत शवको पोस्टमार्टम आजै हुनेछ।
पुरानो घर हालको मनपा–६ भएका सुदिपले पछि पसल चलाउने गरी निकाशेराको सानो जग्गामा घर बनाएका हुन्। त्यसमा उनले फाइनान्सबाट ऋण लिएका थिए। पसल पनि खासै राम्रो चलाउन नसकेको, भएको फाइनान्सकै जागिर पनि छाडेको र मदिरा–तासको बानीका कारण सुदिप पारिवारिक तनावमा भएको पाइएको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाका एक अधिकृतले बताए।
‘छोरा (कक्षा ११) धमाधम पढ्ने बेला व्यवहार बिगारिरहेको विषयमा तनाव भइरहँदा सुदिपका आफ्नै आनिबानीमा पनि समस्या थिए। उनले लकडाउनअघि पसलमा सामान थप्न भनेर आफन्तबाट अर्को दुई लाख सापट लिएका थिए। यावत् कारणले घरकलह भइरहन्थ्यो भन्ने छिमेकीहरुले सुनाए,’ ती अधिकृतले भने।
घटनास्थल प्रष्ट छ
घरको दोस्रो तलामा छोरा शुसान्त भित्तापट्टि पल्टेको अवस्थामा मृत भेटिंदा रगत लागेको चुप्पी समेत सँगै फेला परेको छ। उनको खप्परमा चिरा पर्ने गरी हतियारको चोट लागेको छ। कोठाबाहिर कुकुर ढुनमुनिदै लडेर मरेको, प्यासेजमा छादेको पनि भेटियो।
त्योभन्दा माथि कोठामा पत्नि सम्झनाको अवस्था लगभग समान छ। उही ठाउँमा हतियारको चोट छ। मात्रै फरक के भने छोराको शवलाई रामनामी कपडा ओडाइएको छ भने पत्निको शवमा सेतो खास्टो। पत्नि र छोराको हत्यापछि करीब २० घण्टाको विक्षिप्त अवस्थामा सुदिपले अनेक मनोदशामा विभिन्न क्रियाकलाप गरेको हुनसक्ने प्रहरीको ठम्याइ छ।
सबैभन्दा माथिल्लो तलामा चाहिं सुदिप आफैं मृत लडेका। नजिकैको भाँडामा सल्फर विषजस्तो देखिने शिशि पनि, जसको विधिविज्ञान प्रयोगशालामा परीक्षण हुनेछ। सँगैको शौचालयको भुईंभर उनले वमन गरेर छरिवरि भएको अवस्था छ। भान्सा टेवलमा मुछेको भात, अलिकति दाल र साग पनि भेटिएका छन्। त्यसमै विष मिलाइएको हो कि भनेर पनि परीक्षण गरिंदैछ।
अनुसन्धान अधिकृतहरुले करीब ठहर गरेको घटनाक्रम यस्तो छः निरन्तर तनावबीच पहिले विष प्रयोगबाट पत्नि र छोरालाई वेहोस पारी चुप्पी प्रहार, त्यसपछि कुकुरलाई विष खुवाई मारिएको एवम् अन्त्यमा आफैं विष सेवन गरी आत्महत्या।
‘अनुसन्धान थप अगाडि बढाउँदै जाने क्रममा विभिन्न परीक्षण र प्रमाणबाट यो घटनाक्रम स्थापित हुनसक्ने देखिन्छ,’ अनुसन्धान अधिकृत भन्छन्।
अनुसन्धान निर्क्योलतिर
दशौं वर्षपछि अनुसन्धान टुंगेको पुगेको ललितपुर टौखेल हत्या प्रकरण, रानिबारी हत्या प्रकरणजस्तो जटिलता निकोशेरा घटनामा देखिन्न।
‘यसमा अहिलेसम्मको अनुसन्धानबाट हेर्दा बाहिरी तत्वको प्रतक्ष्य संलग्नता हुनुपर्ने देखिन्न। नत्र सुदिपमाथि पनि हतियारै प्रयोग हुन्थ्यो,’ एक प्रहरी अधिकृत भन्छन् ।
निषधाज्ञाबीचै यस्तो जघन्य घटना भएको कारण प्रहरीले विशेष टोली खटाएर अनुसन्धान अगाडि बढाएको हो। ‘प्रारम्भिक अनुसन्धानमै छौं। तर यसमा धेरै जटिलता हुनुपर्ने देखिदैन। तैपनि हामी विभिन्न कोणबाट छिट्टै पूर्ण अनुसन्धान गर्छौं,’ महाशाखा प्रमुख एसएसपी दीपक थापाले भने ।
(स्रोतःआयोमेल डटकम)