स्रोत नखुलेको ८० लाख रकमसहित एकजना पक्राउ


कार्तिक ५, २०७८, शुक्रबार | विहान ११:१४ बजे | 10


स्रोत नखुलेको ८० लाख रकमसहित एकजना पक्राउ

भक्तपुर । प्रहरीले स्रोत नखुलेको ८० लाख रकमसहित एकजनालाई पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको लोकन्थलीस्थित मनहरा आँखा अस्पताल नजिक चेकजाँच गर्ने क्रममा बा. ४९ प ८५६५ नं. को स्कुटीको डिकीभित्र स्रोत नखुलेको नगद रु. ३० लाखसहित बाग्लुङ गल्कोट नगरपालिका वडा नं. १० पाण्डवखानी स्थाई घर भई हाल काठमाडौ महानगरपालिका वडा नं. ३२ कोटेश्वर बस्ने बर्ष ३६ को चित्रबहादुर पुनलाई पक्राउ गरेको हो ।

पुनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा सोधपुछ गर्दा निजको घर कोठामासमेत थप स्रोत नखुलेको धनमाल लुकाई छिपाई राखेको छ भन्ने जानकारी पाए अनुसार काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा नं. ३२ कोटेश्वरस्थित निजको घर कोठामा तलासी लिदा थप नगद रु. ५० लाख फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

नगद बरामद गरी महानगरीय प्रहरी वृत्त थिमि भक्तपुरमा ल्याइएको र बुधबार नगद रु. ८० लाख र सवारी साधन स्कुटर बा ४९ प ८५६५ सहित कसुरदार पुनलाई थप अनुसन्धान तथा कारबाहीको लागि सम्पति सुद्धिकरण बिभाग पुल्चोक ललितपुर पठाइएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए ।

Comments