प्रहरीले ६ जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका वडा नं. ५ क्वाछेँ  बस्ने बर्ष १९ को राजेश शाही, भक्तपुर नगरपालिका वडा नं. ५ क्वाछेँ बस्ने बर्ष २० की सरिता शाही, धादिङ बेनिघाट गाउपालिका वडा नं. ३ घर भई हाल काठमाण्डौं बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ हात्तिगौडा बस्ने बर्ष ३९ को केशब क्षेत्री, सर्लाही साविक महिनाथपुर गाउ विकास समिति वडा नं. ०९ हाल धनकौल गाउपालिका वडा नं. ४ महिनाथपुर बस्ने बर्ष २८ को विसाल यादव भन्ने रामविश्वास राय यादव,  सर्लाही हरकठवा गाउ विकास समिति वडा नं. ३ हाल धनकौल गाउपालिका वडा नं.३ हरकठवा बस्ने बर्ष २६ को अली महम्मद भन्ने मोहमद शेष ईन्ताज र ललितपुर उपमहानगरपालिका वडा नं. १२ थती स्थायी घर भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. २८ हरिसिद्धि बस्ने बर्ष २९ को रविन देउलालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार २०७८ साउन १७ गते अन्दाजी दुई बजेको समयमा भक्तपुर नगरपालिका वडा नं. ५ क्वाछेँबा राजेश शाहीले चलाई ल्याएको बागमती प्रदेश ०२–०१६ प ०१२६ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरुहरुले शंकास्पद गतिविधी गरेको हुँदा रोकी चेकजाँच गर्दा मोटरसाइकल पछाडि सवार सरिता शाहीले बोकेको प्लाष्टिकको झोलाभित्र निलो रङको ३ वटा प्लाष्टिकको पोकामा २८५ एम्पुल लागू औषध फेला परेको थियो । घटना विवरण अनुसार त्यसपछि उनीहरुबाट उक्त लागूऔषध बरामद गरी भक्तपुर नगरपालिका  ६ भोलाछे बस्ने बर्ष २१ को मोटरसाइक चालक राजेश शाही र .सोही स्थान बस्ने निजको श्रीमती बर्ष १९ की सरिता शाहीलाई नियन्त्रणमा लिएको थियो ।
थप अनुसन्धान गर्दै जाँदा केशब क्षेत्रीले राजेश शाहीलाई बेचेको भन्ने खुल्न बुझिन आएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए । त्यसो हुँदा निज केशव क्षेत्री बस्ने वडा एरिया समेतमा खोजतलास गर्दै जाँदा २०७८ साउन १७ गते अन्दाजी चार बजेको समयमा भक्तपुर नगरपालिका वडा नं. ४ सूर्यविनायकमा केशब क्षेत्रीलाई फेला पारी निजले बोकेको झोला खानतलासी गर्दा २४३ एम्पुल लागू औषध समेत बरामद भएको  थियो । एवं रितले भारतबाट लागू औषध ल्याई उपत्यकामा बेचबिखन गर्ने व्यक्तिहरुमाथि अनुसन्धान गर्दै जाँदा साउन २० गते राम विश्वास रायलाई कानून बमोजिम पक्राउ गरिएकोमा आवश्यक अनुसन्धान गर्दा निजले उपत्यकामा केशब क्षेत्री समेतलाई लागू औषध विक्रीवितरण गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
निज राम विश्वास रायलगायत उपत्यकामा लागू औषध ल्याई खरिदविक्री गर्ने अन्य मानिसहरुकोसमेत खोजतलास गर्दै जाँदा सर्लाही घर भएका अलि महमम्द भन्ने मोहमद शेष इन्ताजसमते संलग्न रहेको भन्ने खुल्न आएकोले भाद्र २२ गते  काठमाडौं कोटेश्वरस्थित विश्राम गेष्ट हाउसबाट निज अलि महम्मद भन्ने मोहमद शेष इन्ताजलाई लागू औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । निज मोहमद शेख इन्ताजले राम विश्वास राय यादव र रविन देउलासमेतलाई विक्री वितरण गर्ने गरेको खुल्न आएको जनाएको छ । मोहमद शेष इन्ताजबाट बरामद हुन आएका लागू औषध विक्रीवितरण गर्ने अन्य व्यक्तिहरुको खोजतलास गर्ने क्रममा लागू औषध खरिद विक्री गर्ने कार्यमा रविन देउलासमेत संलग्न रहेको एकिन भएको हुँदा भदौ २९ गते ललितपुर हरिसिद्धिमा लुकीछिपी बसेको अवस्थामा निज रविन देउलासमेतलाई पक्राउ गरी उल्लेखित लागू औषध मुद्दामा पाँच तहसम्मको लागू औषध खरिद तथा बेचबिखन गर्ने कसुरदारहरु स–प्रमाण नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जनाएको छ । छोटो समयमा धेरै आर्थिक लाभ लिने उदेश्यले लिई उनीहरु हिडेको खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरुका साथबाट विभिन्न सामानहरु प्नि बरामद गरिएको जनाएको छ ।

...

All Comments.......


Please Login/Register To Comments