परपुरुषसँंगको अनैतिक सम्बन्धपछि आफनै श्रीमानको हत्या !


बैशाख १०, २०७८, शुक्रबार | विहान ११:१७ बजे | 25


आफनै पतिलाई विष खुवाई मारेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । खानामा विष हालेर बर्ष ३२ का बिष्णु थापालाई मारेको आरोपमा श्रीमति साविक धादिङ मुलपानी गाउ विकास समिति वडा नं. २ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४ मा डेराकोठा गरी बस्ने बर्ष २९ की पार्वती थापा मगरलाई पक्राउ गरेको हो ।
घटना विवरण अनुसार २०७२ माघ २७ गते बैदेशिक रोजगारबाट २२ महिनापछि पति विष्णु आफनै कोठा सूर्यविनायक नगरपालिका वडा नं. ४ स्थित फर्केका थिए । उक्त दिन बिष्णु आफ्नो श्रीमती पार्वती, बाल बच्चासंग बसेको थिए । त्यसको भोलिपल्ट माघ २८ गते निजको श्रीमती पार्वतीले छोराछोरीलाई अघिल्लो दिन बेलुकाको बासी खाना खुवाई स्कुलतर्फ पठाइकी थिइन् । उक्त दिन अन्दाजी साढे नौ बजेको समयमा निज पार्वतीले पकाएको गहतको दाल, अण्डा करी, खाना (भात) खाँदा निज बिष्णुलाई उकुस मुकुस भई अफ्ठ्यारो भएको थियो । त्यसपछि तत्काल उपचारको लागि मध्यपुर अस्पताल भक्तपुर लगिएको थियो । त्यसपछि उपचारको क्रममा सोही दिन अपरान्ह विष्णुको मृत्यु भएको थियो । तत्काल सोही मितिमा मृत्तकको श्रीमती पार्वतीले ज्यान सम्बन्धी कसुरमा दिएको जाहेरी दरखास्तको आधारमा अनुसन्धान भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । अनुसन्धानको क्रममा मृत्तकको भिषेरा, घटनास्थलबाट उठाईएको गहतको दाल, अण्डा करी, खाना (भात) तथा मुछिएको खाना समेतको परीक्षणको लागी सम्बन्धित प्रयोगशाला पठाईएकोमा २०७४ साउन ९ गतेको पत्र साथ प्राप्त परिक्षण प्रतिवेदनमा मृत्तकको भिषेरा, घटनास्थलबाट उठाईएको गहतको दाल, अण्डा करी र मुछिएको खानामा (भात) किटनाषक बिषादी फेला परेको प्रहरीले जनाएको छ । त्यसपछि मृतकको भाइ लोकबहादुर थापा मगरले २०७४ पुस २७ गते कर्तव्य ज्यान शिर्षकमा मृत्तकको श्रीमती पार्वतीको विरुद्धमा किटानी जाहेरी दरखास्त दिएको थियो । त्यसपछि भक्तपुर जिल्ला अदालतबाट २०७८ वैशाख ८ गतेको आदेशानुसार सोही मितिमा निजको डेराकोठाबाट पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको परिसरका सूचना अधिकृत दीपक गिरी जनाए ।  साथै, निज पार्वतीको पर–पुरुषसंग सम्बन्ध रहेका कारण उक्त घटना घटाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जनाइएको छ ।

Comments