भक्तपुरको सल्लाघारीमा करेन्ट लागेर एकजना युवकको मृत्यु
बैशाख ७, २०७८, मङ्गलबार | दिउँसो १२:३६ बजे | 5
भक्तपुरको सल्लाघारी आकाशे पुल नजिकको एउटा घरमा मंगलबार करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ । सिन्धुपाल्चोक ईन्द्रावती गाँउपालिका वडा नं. २ कुन्चोक घर भई हाल जिल्ला भक्तपुर राधे राधे बस्ने बर्ष २० को संजीव भारतीको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार स्थानीय भरतलाल श्रेष्ठको ६ तले पक्की घरबाट मानिस लडी गम्भीर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ नजिकै सल्लाघारी चोकमा रहेको प्रहरी टोलीले गम्भीर घाइते भएका भारतीलाई उपचारका लागी डा.ईवामुरा अस्पताल सल्लाघारी भक्तपुर लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । पछि अनुसन्धान गर्दा करेन्ट लागेर खसेर मृत्यु भएको भेटिएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए । घटना स्थलमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्र.नि. सूर्यबहादुर शाहीको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको जनाइएको छ ।
अनुसन्धानका क्रममा भरतलाल श्रेष्ठको ६ तला पक्की घरमा केवल बिग्री मर्मत गर्नका लागी केवलका अपरेटर मृतक भारती र सिन्धुली तीनपाटन गाँउपालिका वडा नं. १ घर भई हाल भक्तपुर ठिमी बस्ने बर्ष ३२ को रोहित तामाङ समेत गई केवल जोडिएको पोलमा रोहित तामाङ चढेको र ६ तला पक्की घर माथीको रेलिङमा मृतक भारती गई केवल लाईनको तार समाती चेक गर्दा एक्कासी करेन्ट लाग्न गई ६ तला माथीबाट भुईमा खसी बज्रिन गई गम्भीर घाईते भएको भन्ने खुल्न आएको जनाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।