समालोचक गोपी मैनालीको नवीन कृति ‘विचार र विचरण’ लोकार्पित
असार २९, २०८३, सोमबार | विहान ११:५१ बजे | 130
जयराम बिडारी
काठमाडौँ, असार । वरिष्ठ समालोचक, निबन्धकार तथा कथाकार एवं पूर्व प्रशासक गोपी मैनालीद्वारा लिखित नवीन कृति ‘विचार र विचरण’ एक विशेष समारोहका बीच राजधानीमा लोकार्पण गरिएको छ । अर्पण बाङ्केट नयाँबानेश्वरमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका प्रा.डा.अभि सुवेदी ,प्रा.डा.खगेन्द्र लुईंटेल लोकसेवाका पूर्व अध्यक्ष उमेश मैनाली, प्राज्ञ दिनेशराज पन्त,युवराज मैनाली, वसन्त बस्नेत र बासुदेव ढकालले कृति एकसाथ लोकार्पण गरे । प्रमुख अतिद्वारा पानसमा द्वीप प्रज्वलन गरी समुद्घाटन गरिएको कार्यक्रममा वटुकहरुद्वारा स्वस्ति वाचन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा. डा. अभि सुवेदीले समालोचनात्मक चेतना नै वास्तविक सिर्जनशीलता भएको धारणा राखे । उनले गोपी मैनालीको लेखनमा समालोचनात्मक र सिर्जनशील सोचको सही र सन्तुलित प्रयोग रहेको औंल्याउँदै कुनै पनि विधा, विषय वा गद्य ढाँचामा लेखिएको भए तापनि उत्कृष्ट पुस्तकमा काल्पनिक र प्रतीकात्मक लेखनको संयोजन रहेको बताए । डा. सुवेदीले मानव जीवन र घटनाका अनेकौँ प्रवाहहरूलाई सिर्जनशीलताको कसीमा राखेर प्रस्तुत गर्न सक्नु नै मैनालीको असली विशिष्टता र पहिचान भएको प्रस्ट पार्दै यस महत्वपूर्ण कृतिको सफलताको कामना गर्दै लेखकलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे । कार्यक्रमका वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्र लुइँटेलले "सर्जक मात्र महान् हुन् र समालोचकको कुनै भूमिका हुँदैन" भन्ने सङ्कुचित भ्रमबाट मुक्त हुनुपर्ने बताउँदै ३७ वटा लेखहरु समेटिएको मैनालीका विचार र विचरण कृतिमा अक्षर भन्दा बढी जीवन दर्शनलाई प्राथमिकतामा रखेको औंल्याए । लुईंटेलले कुनै पनि वाद र दर्शनको वकालत नगरी सिर्जनामा निष्पक्ष रुपमा प्रस्तुत हुन सक्नु नै गोपी मैनालीको सामर्थ्यको प्रशंसा गरे । समकालीन साहित्यमा देखा परेका 'खेताला लेखन' को विकृतिप्रति तिखो व्यङ्ग्य गर्दै मैनालीको सशक्त लेखनकलाका हिसाबले कृति सफलताको शुभकामना व्यक्त गरे । सोही क्रममा अर्का विश्लेषक वसन्त बस्नेतले आफ्नो अमेरिका भ्रमणका क्रममा त्यहाँका सेवा-निवृत्त नागरिकहरूले जुवाघर हरूमा समय व्यतीत गरिरहेको देखेको संस्मरण सुनाए । त्यसको तुलनामा पूर्व प्रशासक मैनालीको यो सिर्जनशील, सक्रिय र काव्यिक सफर उदाहरणीय रहेको उल्लेख गरे । उनले विचार र विचारण कृतिले समाजलाई सकारात्मक गति प्रदान गर्ने विचार व्यक्त गर्दै गोपी मैनाली नेपाली साहित्य क्षेत्रका एक निरन्तर क्रियाशील र विशिष्ट प्रतिभा भएको चर्चा गरे । विश्लेषक बस्नेतले मैनालीका कृतिहरू खरिद गर्न पाँच सय रुपैयाँ खर्च गर्दा पाठकहरूको लगानी र समय कदापि खेर नजाने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै प्राज्ञ दिनेशराज पन्तले पत्रपत्रिकामा निरन्तर आइरहने गोपी मैनालीका लेखहरू प्रामाणिक र गहन हुने गरेको उल्लेख गरे । उनले मैनाली लेखन कलामा एक सिद्धहस्त साधकको स्पष्ट झलक पाइने धारणा राख्दै,आफू सधैँ सामान्य र रैथाने विषयवस्तुमा बढी आकर्षित हुने गरेको बताए । प्राज्ञ पन्तले गोपी मैनालीका यसअघि प्रकाशित पुस्तकहरूको गहन अध्ययनका आधारमा यो नयाँ कृति पनि अत्यन्त अब्बल र विशिष्ट ठहरिने विश्वास व्यक्त गर्दै प्रत्येक व्यक्ति समाजमा आफ्नै स्वाभिमान र सिर्जनशील पहिचानका साथ स्थापित हुनुपर्नेमा जोड दिए । सोही अवसरमा पन्तले कुनै पनि व्यक्ति आफ्नै कर्म र नामबाट चिनिनु सर्वोत्तम हुने बुबाको नामबाट चिनिने मध्यम,मामाका नामबाट चिनिने सामान्य र ससुराका नामबाट चिनिने अधम हुने चाखलाग्दो प्रसंग सुनाउँदै गोपी मैनाली नेपाली साहित्यजगतका विशिष्ट प्रतिभा रहेको उल्लेख गरे । उक्त अवसरमा पूर्व कर्मचारी सेवा परिषदका अध्यक्ष रामबाबु नेपालले सुयोग्य प्रशासक,लेखक र प्रशिक्षकका रुपमा सुपरिचित मैनालीको कृति सफलताका लागि शुभकामना व्यक्त गरे । यसै क्रममा, मुक्तिनाथ दर्शन साहित्य समाजका अध्यक्ष कलानिधि दाहालले लेखक मैनालीको लेखनशैलीलाई 'जादुमयी' संज्ञा दिँदै एक रोचक एवं ठट्यौलो विचार प्रस्तुत गरे । उनले ठट्टाको शैलीमा भने , द्रव्याभिलाषी नभएका लेखक मैनालीले कृति लोकार्पणको यस विशेष अवसरमा पाठकहरुलाई पुस्तक निःशुल्क वितरण गरिदिएको भए, पठन संस्कृति कमजोर भएका पाठकहरू समेत अध्ययनतर्फ आकर्षित भई लाभान्वित हुने थिए । सोही क्रममा भाषा आयोगका पूर्व अध्यक्ष डा. लवदेव अवस्थी र महिला अधिकारकर्मी सरु जोशीले पनि गोपी मैनालीको प्रशासनिक दक्षताको प्रशंसा गर्दै समालोचनात्मक अन्वेषण कृति ‘विचार र विचरण’को सफलताको शुभकामना व्यक्त गरे । उक्त अवसरमा लोकसेवाका पूर्व अध्यक्ष उमेश मैनालीले सामान्यतया रुखो मानिने प्रशासनिक क्षेत्रमा कृयाशिल रहँदा रहँदै पनि साहित्यिक उन्नयनका निम्ति कलम चलाउन सक्ने गोपी मैनालीको कुशल प्रशासनिक निष्ठा र उनको उच्चकोटीको साहित्यिक तथा समालोचकीय सामर्थ्य अनुकरणीय रहेको भन्दै कृति सफलताको शुभकामना व्यक्त गरे । सोही क्रममा समालोचक युवराज मैनालीले अभ्यागतहरुलाई धन्यवाद ज्ञापन गर्दै गोपीका समालोचना विश्वविद्यालयमा प्रयुक्त हुने शैली भन्दा फरक रहेको र उनका समालोचना पुनर्सिजना र उच्चस्तरीय हुने गरेको बताए । सोही अवसरमा लेखकीय मन्तव्य राख्दै सर्जक गोपी मैनालीले आख्यान र समालोचनाको प्राविधिक भिन्नता कस्तो हुनुपर्छ भन्ने भन्दा पनि, समाजले साहित्यलाई र साहित्यले समाजलाई कस्तो योगदान दिनुपर्छ भन्ने वैचारिक प्रयोग नै आफ्नो मुख्य अभिष्ट रहेको बताए । वि.सं. २०३८ सालदेखि सुरु भएको आफ्नो लेखन यात्रा हालसम्म पनि निरन्तर जारी रहेको उल्लेख गर्दै उनले यस सफरलाई शिक्षा,प्रयोग र जीवनबोधको एक अविरल प्रक्रियाका रूपमा चित्रण गरे । यसै क्रममा उनले आफ्नो पुस्तक लोकार्पण समारोहमा नेपाली समालोचना क्षेत्रका जाज्वल्यमान नक्षत्र प्रा. डा. अभि सुवेदीलाई प्रमुख अतिथिका रूपमा पाउनु आफ्ना लागि गौरवको विषय भएको बताउँदै कृतज्ञता व्यक्त गरे । मन्तव्यको अन्त्यमा लेखक मैनालीले लोकार्पित कृतिमाथि पाठक तथा विज्ञहरूबाट रचनात्मक एवं समुचित प्रतिक्रियाको अपेक्षित रहेको बताए । कार्यक्रमका सभापति तथा लोकार्पण समारोहका आयोजक एवं प्रकाशक बासुदेव ढकालले कार्यक्रमलाइ सम्बोधन गर्दै कोरोनाकाल पछि सुस्ताएका अन्य व्यवसायिक क्षेत्र जस्तै प्रकाशन संस्थाले पनि गति लिन नसकिरहेको बताए । उनले गोपी मैनाली जस्ता स्थापित स्रष्टाको पुस्तक प्रकाशनका लागि योग्य सम्झिएकामा आभार व्यक्त गरे । सुष्मा पण्डित मैनालीद्वारा अभ्यागतहरुलाई शब्द सुमनद्वारा स्वागत गरिएको सो कार्यक्रमको सहजीकरण कवि तथा पत्रकार ठाकुर बेलबासेले गरेका थिए ।
