ख्वपमा कक्षा १२ का विद्यार्थीलाई गरियो विदाईः नेपाल टप विद्यार्थीलाइ सम्मान
असार १९, २०८३, शुक्रबार | साँझ ०६:०१ बजे | 170
कक्षा १२ का विद्यार्थीको बिदाइ तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डबाट २०८३ सालको वैशाख महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा ख्वप माध्यमिक विद्यालयबाट नियमित परीक्षार्थीका रूपमा सहभागी भएका विद्यार्थीहरूको बिदाइ तथा मार्गनिर्देशन कार्यक्रम २०८३ सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले समाजमा जात, भाषा, धर्म वा अन्य कुनै आधारमा विभेद नगरी योग्यतालाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ।
उहाँले व्यक्तिको पहिचान जन्म वा जातले होइन, उसको योग्यता, क्षमता, इमान्दारिता र कर्मले निर्धारण गर्ने बताउँदै विद्यार्थीहरू जहाँसुकै पुगे पनि आफ्नो ज्ञान, सीप र योग्यताका आधारमा सफल बन्नुपर्ने धारणा राख्नुभयो। जात, भाषा र धर्मका नाममा हुने विभेदले विश्वका शक्तिशाली राष्ट्रहरू समेत समस्यामा परेको उल्लेख गर्दै उहाँले समावेशी, समानतामूलक र मानवतामा आधारित समाज निर्माणमा नयाँ पुस्ताको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।
बिजुक्छेले व्यक्तिगत स्वार्थ र तत्कालको फाइदाभन्दा माथि उठेर सबैलाई समान सम्मान गर्ने संस्कार विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै समाज र राष्ट्रको हितलाई केन्द्रमा राखेर अघि बढ्न विद्यार्थीलाई आग्रह गर्नुभयो। उहाँले नयाँ पुस्ताप्रति विश्वास व्यक्त गर्दै अघिल्लो पुस्ताले गर्न नसकेका धेरै महत्वपूर्ण कामहरू अब नयाँ पुस्ताले पूरा गर्ने अपेक्षा रहेको बताउनुभयो।
उहाँले भक्तपुरलाई शिक्षा र ज्ञानको केन्द्रका रूपमा स्थापित गर्ने अभियानमा ख्वप कलेज तथा ख्वप शैक्षिक संस्थाहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै भविष्यमा भक्तपुरलाई विश्वविद्यालयको सहरका रूपमा विकास गर्ने लक्ष्य प्राप्तिमा विद्यार्थीहरूको सक्रिय सहभागिता आवश्यक रहने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज सञ्चालन समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप कलेजले भक्तपुरलाई उदाहरणीय नगर बनाउन महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो। उहाँले यो कार्यक्रम बिदाइ मात्र नभई स्वागतको कार्यक्रमसमेत भएको उल्लेख गर्दै विद्यार्थीका लागि उच्च शिक्षाको अवसर ख्वपमै उपलब्ध रहेको बताउनुभयो।
नगर प्रमुख प्रजापतिले विद्यार्थीलाई इन्टर्नसिपमार्फत दक्ष र सक्षम बनाउने कार्य कलेजले निरन्तर गर्दै आएको जानकारी दिँदै मेडिकल कलेज सञ्चालनका लागि प्रयास भइरहेको तर जग्गा अभावका कारण हालसम्म सम्भव हुन नसकेको बताउनुभयो। उच्च शिक्षाका लागि ठूलो संख्यामा विद्यार्थी विदेशिनु चिन्ताको विषय भएको उल्लेख गर्दै निजी कलेजका आकर्षक विज्ञापनको पछि नलागी आफ्नो रुचि, क्षमता र गुणस्तरीय शिक्षालाई आधार बनाएर अध्ययन संस्थाको छनोट गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले प्लस–टुपछि विदेश अध्ययनका लागि जाने विद्यार्थीले पनि आफ्नो देशप्रति सेवा गर्ने भावना कायम राख्नुपर्नेमा जोड दिनुभयो।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले ख्वपमै आगामी उच्च शिक्षाका पर्याप्त अवसर रहेको उल्लेख गर्दै प्रतिस्पर्धी, सक्षम र अनुसन्धानमुखी विद्यार्थी उत्पादन गर्न कलेज प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले कलेज छनोट गर्दा आकर्षक विज्ञापनका आधारमा नभई कलेजको गुणस्तर, योग्यता, शैक्षिक उपलब्धि र उत्पादन गरेका जनशक्तिलाई आधार बनाएर छनोट गर्नुपर्नेमा जोड दिनुभयो। निजी कलेजका झिलिमिली र आकर्षक विज्ञापनको पछि नलागी आफ्नो रुचि, क्षमता र भविष्यलाई ध्यानमा राखेर अध्ययन संस्थाको छनोट गर्न उहाँहरुले विद्यार्थीलाई आग्रह गर्नुभयो।
कार्यक्रममा विद्यार्थी प्रतिनिधिहरुले आफ्नो अध्ययन अनुभव, आगामी शैक्षिक यात्राका योजना तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको प्रारम्भमा ख्वप माध्यमिक विद्यालयका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै कक्षा १२ को अध्ययन सफलतापूर्वक सम्पन्न गरेका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा यस वर्षको नेपाल टप विद्यार्थी अतुल अधिकारिलाइ सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...
