भक्तपुर नगरका मन्दिरहरु अवलोकन


असार १४, २०८३, आइतबार | दिउँसो ०३:४१ बजे | 125


भक्तपुर नगरका मन्दिरहरु अवलोकन

प्रजापति तिमिल्सिना
रचनाकार, कोटेश्वर 
९८४१०४६५१३
(यो लेख मित्र श्री पदम दाहालज्यू र मसहित दुईजनालाई भक्तपुर निवासी डा. इन्दुल के.सी.ज्यूले पथप्रदर्शक भई भक्तपुर नगरका ऐतिहासिक मठमन्दिरहरु भ्रमण गराउँदा मैले देखेका विवरण यस लेखमा प्रस्तुत गरेको छु ।)
विषयान्तरमा पुगिएका यी प्रसङ्गहरूलाई छाडेर  मन्दिरको अवलोकन गर्नतिर लागौँ । अब हामी दत्तात्रेयको मन्दिरमा प्रवेश ग¥यौँ । हामी ज्ञानका लागि आराध्या देवी सरस्वतीको आराधना गर्ने गर्छौ । यसै गरी दत्तात्रेयलाई पनि ज्ञानका आराध्यदेव मान्दछौँ । अहिले हामी यिनै ज्ञानका देवता मानिने दत्तात्रेयको मन्दिरको द्वारअगाडि उभिएका छौँ । यिनी ज्ञान, विद्या, शिक्षाका परम अवतार मानिन्छन् । ज्ञान विज्ञान र शिक्षाका लागि यिनको आराधना गर्ने गरिन्छ । यिनलाई ध्यानमग्न स्मरण गरिरहने भक्तले यिनको सामीप्य पाउँछ भन्ने विश्वास गरिएको छ । कसैकसैले यिनलाई स्मृतिगामी भगवान्का रूपमा पुज्ने पनि गर्दछन् ।
 पश्चिमविमुख भगवान् दत्तात्रेयको मन्दिरको अगाडि उभिँदा शिवशैलको प्रतिनिधि स्वरूपमा विशाल त्रिशूल खडा देख्छौँ ।  साथै शङ्खचक्र धारण गरेका खम्बा भगवान्का द्वारको दायाँबायाँ  खडा छन् । मन्दिर प्रवेश गर्ने सिँढीतल रहेका विशाल दुई मूर्तिको बीचमा उभिएर इन्दुलजीका नजरले ती विशाल मूर्ति देखाउँदै मुसुमुसु हाँस्दै सोधिरहनुभएको थियो, ‘यी विशाल शरीर भएका व्यक्ति कोको हुन् था‘छ ?’ मैले जैमल पत्ताका वारेमा पढेको थिएँ । त्यसैले  झट्ट भनिहालेँ,‘ जैमल पत्ता’ अथवा राठौर राव जैमल र केल्वाको पत्ता । यिनलाई छोटकरीमा भन्दा जैमल पत्ता भन्ने गरिन्छ ।’ जहाँजहाँ  धर्मको रक्षा गर्नुपर्ने आवश्यकता पर्दछ, त्यतैत्यतै पुग्ने गर्छन् यी जैमल पत्ता । नेपाल भाषामा यिनलाई ‘कुटुवा’ भन्ने गरिन्छ । यस्ता शक्तियुक्त मानवका मूर्तिहरूले मन्दिरको रक्षा गरिरहेका छन् ।  
मन्दिरको रक्षार्थ डटिरहेका यी विशाल मूर्तिलाई अभिवादन गर्दै मन्दिरमा प्रवेश ग¥यौँ । प्रवेश गर्दै ब्रम्हा, विष्ण,ु महेश्वरको एकै रूप भगवान् दत्तात्रेयमा समर्पण ढोग चढायौँ । बुध्दि ज्ञान विद्याको आशीर्वाद माग्यौँ । स्पर्श निषेध गरिएका भगवान् दत्तात्रेयको मूर्ति सम्झने वित्तिकै मनमा प्रश्न उठिरह्यो, यिनको सम्मुखता किन सूर्य अस्तको दिशातिर छ ?
विष्णु भगवान्का झै चक्र धारण गरेका भगवान् दत्तात्रेयको दर्शन गर्नाले  पूर्वजन्म लगायत यो जन्मका सबै पाप नाश हुन्छन् भन्ने मान्यता रहेकोछ । हामीले पनि त्यही विश्वासका साथ  बुध्दि विवेकको आशा बोकेर दर्शन ढोग गरेका थियौँ । त्यही मन्दिरमा दत्तात्रेयकी माता अनसूयाको पनि मूर्ति रहकोे छ । उनको मूर्तिलाई पनि स्पर्श निषेध गरिएको छ । ढोकाबाटै ढोग दर्शन चढायौँ । फेरि मनले सोधिरह्यो भगवान्को स्पर्श र दर्शन किन निषेध गरिएको होला ?
यो मन्दिर रहेको स्थान  शुरुमा  शिव तपस्वीहरूको विश्राम स्थलको रुपमा रहेको मानिन्छ । यो उपत्यकाको भ्रमण गर्ने क्रममा भारतबाट आएका शङ्कराचायले पनि यहाँ आउँदा यहीँ विश्राम गर्ने गरेका थिए भन्ने बताइने गरेको पाइन्छ । उनैको प्रेरणाले यहाँ दत्तात्रेयको मन्दिर निर्माण गरिएको  हो पनि भनिन्छ । राजा यक्षमल्लको शासनकालमा बि सं १४७० मा यो मन्दिर निर्माण गरिएको हो । पछि उनका छोराले मन्दिरमा तला थपेको बताइन्छ । सम्बत १४८६ देखि मात्र मन्दिरमा सर्बसाधारणलाई प्रवेश गर्न अनुमति दिइएको बताइन्छ ।
 हामी अपरान्हमा यो मन्दिरमा पुगेकोले पनि  रोजाना यी भगवान्को महाप्रसादको रुपमा बितरण गरिने दहीच्युरा हामीलाई ग्रहण गर्ने सौभाग्य मिलेन ।
आफ्ना भित्ता भित्तामा अनि टुँडाल टुँडालमा यौन चित्र बोकेको यो मन्दिरमा रहने देवताको उत्पत्तिको कहानी पनि उस्तै रोचक रहेको पाइन्छ ।
      भनिन्छ, स्त्रीहरूमा अरू नारीको रुप र सुन्दरता र सद्गुण देखेर  अत्यन्तै ईष्र्या र डाहा बढ्ने गर्छ् । ती स्त्री चाहे  देवका हुन्, चाहे दानव मानव स्त्री किन नहुन् । अत्रि ऋषि र देवी अनसूया आफ्नो कुटीमा आनन्दपूर्वक रहने गर्थे । देवी अनसूयाको सुन्दरता र सतीत्वको प्रख्याती भूमण्डलमा फैलिएको थियो ।  अनुसूयाको सतीत्वको प्रख्याती ब्रह्मा विष्णु महेश्वर यी तिनैका पत्नीहरूकहाँ पनि पुग्छ । उनीहरू ईष्र्याले छट्पटिन थाल्छन् । आआफ्ना पतिहरूलाई  उनलाई हेर्न जाँच्न दवाव दिन थाल्छन् । फेरि त्रिदेव पूरा ज्ञातब्य छन् देवी अनसूयाको रुप तपस्या र चरित्रको बारेमा शंका गर्नु नै छैन । तर पनि स्त्रीको जिद्दीको अगाडि पुरुषको केही लागेन । रामचन्द्रलाई पनि थाहा थियो त, त्यो वास्तविक सुनको मृग हैन भनेर । तर पनि समात्न दौडिए ।
 त्यो दिन, मङ्सिर पूर्णिमा थियो । थाहा हुँदाहुँदै पनि आफ्ना स्त्रीहरूका दबाबमा त्रिदेवहरू सन्यासी रुप घारण गरेर ऋषि अत्रिको आश्रममा पुग्छन् ।  बाहिरबाटै अलख जगाउँछन् । अनसूया दानपात्रमा  राखेर दान लिएर आउँछिन् । तब त्रिदेव एकैस्वरमा बोल्छन्, ‘मर्यादा लाज र सङ्कोच त्यागेर दिइएको भिक्षामात्र ग्राह्य हुनेछ ।’
 प्रफूल्ल यौवन, चञ्चल रुप सुन्दर शरीर भएकी अनसूयालाई आफ्नो तपस्या र विवेकले विचलित बनाएन । धैर्य भएर सोच्दै भनिन्,‘ऋषिवरको अनुपस्थिति छ । वहाँको आज्ञा विना यसप्रकारको दान गर्न म असमर्थ छु सन्न्यासी महाराजहरू ।’
उत्तरको लगतै सन्न्यासी भेष धारण गरेका त्रिदेव फर्कन्छन् । उनी हेरिरहन्छिन्, हेरिरहँदा उनको तपस्या र सतीत्वको बलले ती सन्यासीहरू रहस्य चाल पाउँछिन् । उनले हेरिरहँदारहँदै त्रिदेव ससाना बच्चा बन्दछन् । उनले तीनै  बच्चा त्रिदेवलाई काखमा राखेर भीक्षा दानमा स्तनपान गराइरहन्छिन् । अनुसूयाको पतिव्रताको रस पानबाट डम्म पेट भरियो पनि होला त्रिदेवहरूको । अत्रि ऋषि आउँदै उनी स्तनपान गराइरहेको देख्दा, रहस्य थाहापाएका उनी मुसुमुसु हाँस्दै कुटी भित्र पस्छन् ।
यता आफ्ना जिद्दीले अनसूयाको पवित्रता र पतिव्रताधर्म जाँच्न पठाएका त्रिदेवहरू लामो समय सम्म नफर्केपछि खोज्न निस्कन्छन् त्रिदेव पत्नीहरू । अत्रि ऋषिको आश्रममा पुग्दा माता अनसूयाले त्रिदेवहरूलाई बच्चाको रुपमा काखमा राखेर स्तनपान गराइरहेको देख्छन् । आश्चर्य मान्दै पनि,उत्पिडन् जस्तै बन्दै पनि  देवी अनसूयाको चरणमा रुँदै कराउँदै  बिन्ती गर्दै आफ्ना पतिहरूलाई पहिलाको जस्तै रुपमा फर्काइदिन अनुरोध गर्छन् । नारीत्वको अभिमान भित्र पनि धेरै भाग करुणाले भरिएको हुन्छ । नारीको दुःख विलौनामा त्यही करुणाले  नारीकै मन छिटो पगाल्छ, पग्ल्यो अनसूयाको मन पनि  । अनि, त्रिदेवलाई पहिला कै रुपमा फर्काइदिइन् ।
 देवी अनसूयाको दयामा आफ्नो वास्तविक स्वरुपमा फर्कन पाउँछन् । अनि, त्रिदेव खुसी हुँदै भन्छन्, ‘देवी हामीलाई आफ्नै स्वरुपमा फर्काइदिएकोमा हामी धन्य भयाँै ।  भन देवी तिमी के चाहान्छ्यौ ? हामी त्यो पूरा गरिदिन्छौँ ।’ अनसूया भन्छिन्,‘त्रिदेव मलाई केही आवश्यक नै छैन के मागूँ ? त्रिदवले केही त माग भनी जोड गर्दैगर्दा देवी भन्छिन्, ‘हजुरहरू माग नै भन्नुहुन्छ भने, हजुर त्रिदेव जस्तै, अनुहार, गुण, स्वभाव, शीलता र शक्ति भएको एउटै पुत्र पाऊँ ।’ अनि, भगवान् त्रिदेव एकै स्वरमा ‘तथास्तु’ बोलिदिन्छन् । समयमा माता अनसूयाको कोखबाट भगवान् त्रिदेव जस्ता, गुण, शील स्वभाव, र शक्तिभएका दत्तात्रेयको जन्म हुन्छ । यिनै दत्तात्रेयलाई मूर्ति विग्रहमा यही मन्दिरमा स्थापना गरिएकोछ भने त्यही मन्दिरमा माता अनसूयाको मूर्ति पनि राखिएकोछ । 
हामी यिनै दत्तात्रेय, ब्रह्मा, विष्णु, महेश्वरको एउटै स्वरुपलाई ज्ञान विज्ञान बुध्दिका देवता  मानेर पूजा अर्चना  गर्दछाँै । श्रावण महिनाको प्रत्येक सोमबार यो मन्दिरको प्राङ्गणमा विशेष मेला लाग्ने गर्दछ । यही दिन विवाहित नारीले आफ्नो श्रीमान्को दीर्घायु, आरोग्यताको कामना गर्दै ब्रत बसेर भगवान् दत्तात्रेयको पूजा अर्चना गर्ने गर्दछन् । अविवाहित कुमारीहरूले पनि असल पति पाउँ भनेर यिनको पूजा अर्चना गर्ने गर्दछन् ।  
ज्ञान र वुध्दिका आराध्य भगवान्को दर्शन पछि एउटै प्राङ्गणमा रहेको अद्भुत रहस्य बोकेको अर्को मन्दिर नजिकै पुग्यौँ । जुन मन्दिरले धर्तीमा मात्र हैन आकाशमा पनि आफ्नो प्रभुत्व जमाएर ससाना मन्दिरलाई जिस्क्याइरहेकोे हो कि जस्तो देखिन्छ । यो भक्तपुरको मात्र नभएर उपत्यकाकै अग्लो मन्दिर मानिन्छ ।  परैबाट हेरिरहेका हामीलाई इन्दुलजीले देखाउनुभयो । अनि, हामीसँगै मन्दिरतिर लाग्यौँ ।
मौलिक प्यागोडा शैलीको भव्य अग्लो देखिने यो मन्दिरका  पाँच तला छन् । यी पाँच तलालाई सृष्टिका पञ्चतत्त्वसँग सम्बन्ध रहेको मानिन्छ । यो पाँचतले  मन्दिरको गजुर आकाशमा चम्किरहेको देखिन्छ ।  भनिन्छ यो मन्दिर पञ्चतत्वसँग मात्र सम्बन्धित छैन । यस भित्र पञ्चभूतले निर्मित ब्रम्हाण्डलाई नै हल्लाउन सक्ने तन्त्र शक्ति रहेको मानिन्छ । यो भित्र अत्यन्त शक्तिशाली तान्त्रिक देवी सिध्दिलक्ष्मी रहने गर्छिन् । जसको शरीरबाट सदा तन्त्रशक्ति प्रवाहित भइरहेको मानिन्छ । त्यसैले महाभूकम्पमा पनि यो हल्लिएन, अटुट उभिरह्यो । किनभने यो मन्दिरको आत्मामा भक्ति छ शक्ति छ । यी कुरा सुन्दा मात्रै पनि देवीको मूर्तिको तन्त्रप्लावित चञ्चलता हेर्ने चाहाना बढ्नु स्वभाविक पनि भयो ।  हामी पनि त्यही भक्ति खोज्न पुगेका थियौँ शक्तिको आशाा गर्दै ।  तर माताको द्वार सदा बन्द राखिने रहेछ  ।
 माताको शरीरमा जागृत भइरहने तन्त्रको  प्रवाहको  शक्ति असन्तुलनको असर अनिष्ट हुनसक्ने भएर पनि होला त्यो अनिष्टबाट  सर्वसाधारणलाई बचाउन माताको चरणतक प्रवेशमा रोक लगाइएको  । त्यसैले मातालाई बन्धयुक्त बनाएर राख्ने गरेको  । 
यसरी बन्धयुक्त राखिने माताको स्वरुपको वारेमा  स्थानीयलार्ई सोध्दैगर्दा हाम्रा कुरा सुनिरहनु भएका हाम्रा अर्गदर्शी इन्दुल केसी भन्नुहुन्छ,‘ जीवनमा एकपटक  मन्दिर भित्र प्रवेश गरेर सिध्दिलक्ष्मी माताको दर्शन गर्ने सौभाग्य पाएको छु ।’  यिनी सर्वश्रेष्ठ तान्त्रिक देवी भएकोले यिनको रुपको अपुरो ज्ञानको कारण तन्त्रको असर आम मानिसमा नहोस् भनेर गोप्य राखिएको  पनि हुनसक्छ । यिनको  शरीरबाट प्रवाहित भइरहने तन्त्रस्ाँग साधना गर्न  साधकहरू आइरहने  गर्दा रहेछन् । 
माताको मूर्तिको वारेको प्राप्त जानकारी,  अन्य स्रोत र आधारहरू पनि खोज्यौँ, शास्रहरूमा पनि खोज्ने प्रयास ग¥यौँ । हामीलाई प्राप्त ज्ञान र जानकारी अनुसार, सिध्दि लक्ष्मी माताको नौ फिट अग्लो मुुूर्ति पारस पत्थरमा कुँदिएको हुन्छ । यो नौ फिट अग्लो मूर्तिका नौवटा शिर र अभय मुद्रामा फैलिएका अठ्ठार हात रहेका हुन्छन् ।  तीन तह र पङ्तिमा रहेको यो मूर्तिको पहिलो तहमा पाँच शिर रहन्छन् । यी  पाँच शिरलाई चण्डी र भद्रकालि लगायतका शक्तिस्वरुपा देवीहरू मानिन्छन् । दोस्रो तहमा रहेको मुर्तिलाई प्रत्यङ्कर शरगिरा भनिन्छ भने शीर्ष उपासेलाई सिध्दिलक्ष्मी भनिन्छ । यो विशाल मुर्तिको एकातिर महाङ्काल र अर्कोतर्फ मसान भैरव रहेका छन् । यिनले  तन्त्रको श्रेष्ठस्थानमा  रहेकी यी देवीको सुरक्षा गरिरहेको मानिन्छ ।
विशाल चबुतरा माथि निर्माण गरिएको यो मन्दिरको छानु धातुको नभएर माटोबाट बनेको झिँगटीको रहेकोछ । पञ्चभूतको एकतत्व, धर्तीको उत्तम आवरण माटोलाई पनि मानिन्छ । यो अग्लो चबुतरामा पाँचतहमा निर्मित सिढीँहरू छन् ।  सिढीँहरूका तहतहमा सिध्दि लक्ष्मीका रक्षकहरू रहेकाछन् । त्यहाँ तिनको शक्ति र क्षमता  मिलाएर  राखिएको छ, भनिदो रहेछ । 
 दत्तात्रेयको मन्दिरको रक्षार्थ रहेका विशाल देहभएका जैमलपत्ता यहाँ पनि पहिलो तहमा दायाँ वायाँ गरेर  रहेकाछन् । दोस्रो तहमा हात्ती रहेका छन् । तेस्रो तहमा सिँह बाघ रहेकाछन् । चौथो तहमा शार्दूलका जोडी रहेकाछन् । पाँचौँ तहमा रहेकालाई बघिनी सिँहिनी भनिदोरहेछ ।  पुग्दै मन्दिर परिक्रमा ग¥यौँ  ।  मन्दिरको चार सुरमा रहेका पाँच गणेशलाई दर्शन ग¥यौँ । अनि प्रत्येक तहमा रहेका ती  रक्षकहरूलाई ढोग गर्दै  मन्दिर पुग्यौँ । मन्दिरबाट ऐतिहासिक भक्तपुर सहर पुरै देखिएको आनन्दमा  केहीवेर रमाइरह्यौँ । 
माताको द्वार अगाडि पुगेर द्वारमा आँखा लगाउँदै गर्दा सुदुर शून्यताबाट आवाज आइरहेजस्तो लाग्यो ।  त्यही आवाजसँगै माताको स्वरुपको  कल्पना उठाएर ध्यानमग्न भयाँै  ।  फेरि पलक  झुकाउँदै माताका चरणमा आफूलाई समर्पित ग¥यौँ । कल्पनाश्रित आनन्दमा रमाउँदै आँखा खुले । हामी तल झदै गर्दा लाग्यो, अवश्य हामीले विफल कामनाको आशीर्वाद बोकेर फर्किरहेका छैनौ ।
यस्ती सर्वोत्तम तान्त्रिक देवी सिध्दि लक्ष्मीको स्थापनाको विषयमा पनि केही किंम्वदन्ती रहेछन्,  । जुन अत्यन्तै रोचक पनि लाग्यो । तान्त्रिक स्वरुपादेवीको मूर्ति निर्माण सबैभन्दा कठिन मानिन्छ । । स्थापना गर्न पनि त्यत्तिकै कठिन हुन्छ भनिन्छ । हाम्रा त्रिकालदर्शी पुर्खाहरूले आफू सदा जीवित रहने प्रयासमा कठिन कार्य पनि सहजताका साथ  सम्पन्न गरेकाछन् । किनभने उद्भव पछि अस्तित्व हराउँछ भन्ने उनीहरूलाई अवगत छ ।  तर यस्ता आध्यात्मिक सिर्जनाहरूले कहिल्यै गुमनामको प्रश्न उठाउँदैनन् । त्यसैले यी सदा अस्तित्वमा अटल रहन्छन् । यिनीहरूको अटलतासँग निर्माताको नाम पनि अटल रहन्छ भन्ने थाहा छ ।  हामी उनीहरूले गरेका यस्ता निर्माणहरू हेर्दै उनीहरूलाई सम्झने गर्छाँै । हामी र हाम्रो सम्झनाले यिनीहरूलाई  जीवित तुल्याइरहेको हुन्छ  । अमर जीवनको सार पनि यही होला ।  यस्तो यो  अद्वित्तीय मन्दिरको निर्माण वि स १७०२ मा सम्मपन्न भएको बताइन्छ भने यसको निर्माणको अवधि जम्मा २१८दिन रहेको मानिन्छ ।
पहिले यो मन्दिर रहेको स्थानको नजिकै  भैरवको मन्दिर रहेको भनिन्छ । बेताललाई भैरवको वाहन पनि मानिन्छ । भैरवका वहान किन हो ? क्रोधित भएछन् ।  स्थानीयहरूलाई दुःखदिन थालेछन् । उनको हर्कतदेखि स्थानीयहरू आजित हुन्छन् । त्यही समय उता आकाश भैरव समेत हराउँछन् ।  राज्यमा अनिष्टहरू झनै बढ्न थाल्छन् । यी सबै कुराहरू अवगत गरेका राजा भूपतीन्द्र मल्ल अत्यन्तै चिन्तित हुन्छन् ।  राज सल्लाहकार, ज्योतिष, विद्वानहरूको सभा बोलाउँछन् । यी कुराहरू अध्ययन गरेको टोलीले महिला देवीको आराधना गरी  तिनको मूर्ति स्थापनागरी नित्यपूजा चलाएमा बेतालको उपद्रव शान्त गर्न सकिन्छ भन्ने सुझाव पेश गर्छन् । 
 नारी सर्बोच्चता  हाम्रो परम्पराले पनि  स्वीकार गर्दै आइरहेको छ ।  यही कुरा स्वीकार गरेर राजा भूपतीन्द्र मल्लले अरू कसैलाई नभनीकन स्वयंले माता पार्वतीको आराधना गर्न थाल्छन् । उनको आराधनाबाट खुसी हुँदै माता पार्वती स्वयं प्रकट हुन्छिन्  । आफ्नो आराधना गरिरहेका राजालाई सोध्छिन्, ‘के कारणले सम्झ्यौ राजन मलाई ।’ राजाले राज्यमा भएका सबै अराजक गतिविधि सुनाउँछन् ।  नियन्त्रण गरिदिन पनि मातामा अनुरोध चढाउँछन्  । देवी खुसी हुँदै, ‘फिकर नगर राजन, म सिध्दिलक्ष्मी स्वरुपमा प्रकट भएर ती उपद्रवी बेताललाई  नियन्त्रण गरिदिनेछु ।’ त्यसपछि तिम्रो राज्यमा हुनेगरेको असामान्य गतिविधि सबै रोकिनेछन् । राज्यमा पुनः अमनचयन फर्किने छ ।’ भन्ने आशीर्वाद दिदै अलप हुन्छिन्  । अनि, माता पार्वती सिध्दिलक्ष्मीको रुपमा प्रकट भएर त्यो बेताललाई आफ्नो  बाहुमा नियन्त्रण गरेर राखिदिन्छिन् । त्यसपछि राज्य आफ्नै पुरानो लयमा फर्कन्छ । राजा खुसी हुन्छन् । दुनियाँ खुसी हुन्छ । यही खुसियालीमा देवी सिध्दिलक्ष्मी प्रति समर्पित गर्दै यो मन्दिर निमाण गर्न  राजा आफैँ अघिसर्छन् ।
 राजा स्वय उपस्थित भएर यो मन्दिर निर्माण गरेको मानिन्छ ।  त्यसैले यो मन्दिर तान्त्रिक र वास्तु बिधिसम्मत निर्माण भएको मानिन्छ । यो मन्दिर निर्माण भएदेखि आजसम्म  महाभूकम्प लगायतका जति देवीप्रकोप आए पनि यसले कहिल्यै अस्तित्व गुमाएन । हामी देखिरहेका छौँ, सन्ततिले पनि देखिरहने छन्, यो अहिले जुन अस्तित्वमा  छ त्यही त्यही अस्तित्वमा खडा भइनैरहने छ ।
  माता सिध्दलक्ष्मीको मूर्ति पनि तान्त्रिक विधिअनुसा रै  निर्माण गर्न लगाएर स्थापना गरेको मानिन्छ । जुन पध्दति प्रथाबाट  राजा भुपतीन्द्र मल्लले  माताको पूजाकर्म चलाएका थिए , आजसम्म त्यही परम्परामा पूजा चलिरहेको मानिन्छ र चलिरहने पनि छ ।
 हाम्रो अगाडि खुलेको यो माताको इतिहासले होला, माताको तन्त्रशक्तिले पनि होला हामी अत्यन्त रमाउँदै मन्दिर घुमिरह्याँै । घुमिरहँदा  आजका हाम्रा अग्रदर्शी डा इन्दुल केसीले हामीलाई इसारा गरिरहनु भएको रहेछ ।  हामी वहाँको नजिक पुग्दापुग्दै भन्नुहुन्छ, ‘अब म तपाईहरूलाई अजर अमर कलाकृतिको सङ्ग्रहालय तर्फ लैजानेछु ।’ हामी त्यो सङ्ग्रहालय घुम्ने चाहनामा यो अखण्ड तान्त्रिक र शान्तिमय आँगनबाट बिदा लियौँ ।
५)भक्तपुर दरबार क्षेत्र
 धामको किरणहरू नरम हुँदै गइरहेका थिए । हामीमा उत्साह झनै तेज हुँदै गइरहेका थिए । हामी वहाँको पछि लाग्याँै । तर समयले हामीलाई  हैन हैन भनिरहेको रहेछ । हामी त्यहाँ पुग्दा सूर्यका किरण तेर्सिदै धर्तीको संघारबाट झर्न लागिसकेका थिए ।  पचपन्न झ्याले दरबारको द्वार बन्दभइसकेको थियो । नेपाल भाषामा यसलाई ‘लायकु’ दरबार भनिदो रहेछ । दरबार परिसर भित्रका सम्पदाहरू सबै अवलोकन  गर्न सकेनौ । तर दरबार बाहिरको प्राङ्गणमा रहेका सम्पदाहरू घुमाउँनुु भयो इन्दुलजीले । 
 यो दरवार बाहिरको प्राङ्गणमा पनि कलात्मक विशाल भवन र मन्दिरहरू, यही प्राङ्गणबाट देखिने पचपन्न झ्याले दरवार हेर्दै घुमिरह्याँै ।  दरबार प्रवेश द्वार जसलाई स्वर्णद्वार पनि भनिन्छ । यसका खम्बाहरूमा  भैरव, कालि, गणेश, तलेजु भवानी लगायतका देवी देवताका मिहीन तवरबाट कलात्मक मुर्ति कुँदिएका । यस्तै कलाकृतिको स्रोत भएर पनि होला यो क्षेत्रलाई नै विश्व सम्पदा सूचीमा समावेस गरिएको । यी कलाकृतिहरू आत्मा संयमता, परलोक परमात्मासँगको विषयमा पनि ज्ञानका स्रोत  बनिरहेका छन् । हाम्रो ऐतिहासिक अवस्था पनि बोलिरहेका छन् ।
 प्रौढताको पनि उपल्लो सिँढीमा हिडिरहेको वहाँको शरीरले आजको यो भ्रमणको बिट मार्न खोजिरहेको थियो । वहाँले ठूलो घण्टा देखाउँदै भन्नुभयो, ‘ऊ त्यो घण्टाको नजिकै सानो घण्टा छ । त्यो घण्टाको बारेमा स्थानीयहरूसँग साक्षात गराउँछु । अनि आजको भ्रमण यही स्थगित गर्नुपर्ला ।’  समय मिलाएर पछि दरवार भित्र धुमाउने कुरा गर्दै त्यो विशेष घण्टामुनि पु¥याउँदै भन्नुभया,े ‘यो कुकुर रुवाउने घण्टा हो ।’ नेपाल भाषामा यसलाई खिँचा खो गाँं भनिदो रहेछ ।  जब यो घण्टा बज्दछ तब कुकुरहरू यो घण्टा मुनि आएर रुन थाल्छन् । कुरा सुन्दै अचम्मै लाग्यो । हामीलाई स्थानीयसँग पनि सोधाउनु भयो । स्थानीयहरूले पनि यही कुरा बताए ।
यो कुरा सुनेर मन कताकता गहिरियो । प्राणी बिज्ञान भन्छ, ‘सबै प्राणीको वीर्यकोष लगभग एकै प्रकारको हुन्छ ।’ त्यसैले पनि होला हाम्रा वेदका वाणीले पनि बोल्ने गरेका  सबै प्रकारका आत्माको सम्बन्ध परमात्मासँग  रहेको हुन्छ । त्यसैले परमात्मा सबैको हृदयले खोजिरहेको हुन्छ । तर आत्माको परमात्माको  खोजाई त्यति सहज देखिदैन । परमात्मा खोजेर भेटिदैन । जव यो घण्टा ईश्वरलाई समर्पित गर्दै बजाइन्छ । सायद घण्टाको आवाजमा परमात्माको आवाज सुन्छन् कुकुरहरू । जब घण्टा बजेको  आवाज सुन्छन् गल्लीमा घुमिरहेका कुकुरहरू, आवाज पछ्याउँदै घण्टामुनि आइपुग्छन् । अनि, परमात्मा पुकार्दै घण्टासँगै रुन थाल्छन । यही रुवाइमा गल्लीमा भौतारिरहँदाका आफ्ना पीडाहरू सुनाँउछन्  होला । 
 यो कहानी सुन्दासम्म  घाम डुबिसकेका थिए । एकदुई घरमा बत्ती पनि बलिसकेको देखिन्थ्यो । वहाँको चिया खाने आग्रहलाई साँझ परिसके पनि  टार्न सकेनौँ ।  मलाई संसारकै अति विशिष्ट शिवलिङ्ग हेर्न इच्छा थियो ।  समयले बोलि रोकिसकेको हुनाले त्यतिखेर इन्दुलजीलाई भन्न सकिनँ । त्यो शिवलिङ्ग भक्तपुरमा बाहेक संसारमा  कतै देख्न पाँइदैन । त्यो विशिष्ट शिवलिङ्गलाई वागेश्वर शिवलिङ्ग भनिन्छ । त्यो हेर्ने इच्छा पुरा गरिदिने आग्रह शिवमा समर्पण गर्दै चियापान पछि हामी आआफ्ना स्थानतिर लाग्यौँ ।
प्रायः अग्रदर्शी आफूमा भएको जानकारी मात्र सुनाउने गर्छन् । तर इन्दुलजी आफूले दिएको जानकारी प्रति अत्यन्तै सजग देखिनु हुन्थ्यो । आफूले गराएको जानकारी कतै अपुरो पो छ कि ? त्यो जानकारीलाई अझ पूर्ण पार्न सम्बन्धित व्यक्तित्व र स्थानीयहरूसँग समेत भेट गराउनु हुन्थ्यो  । कतैबाट सोधखोज गरेर पनि हामीलाई सुनाउनु हुन्थ्यो । वहाँको यो स्थान र क्षेत्रको वारेमा पाएको अनुभव, वहाँले हासिल गरेको अनुभव हामी सबैको लागि ज्ञानको स्रोत सामाग्री र अध्ययनको विषय बन्न सक्छ  जस्तो मलाई लाग्छ । 
वहाँको सङ्गत भइसकेको यतिका वर्ष भइसक्यो तर पनि वहाँभित्र जति आयामहरू छन्, ती सबै आयामसँग हामी परिचित हुन सकेको रहेनछौ । यो भक्तपुरका ऐतिहसिक सम्पदाहरूको भ्रमणले वहाँको यो अग्रदर्शी व्यक्तित्वसँग  पनि परिचित हुने अवसर मिल्यो । यो ऐतिहासिक, पहिलो सहर भक्तपुरको दर्शन अवलोकनसँगै हाम्रो मित्रता चिरकाल तक चलिरहने छ । पत्तोनपाइ जोडिएको वहाँसँगको सम्बन्ध अझ गाढा हुँदै जानेछ । सम्बन्ध वढ्दै जाँदा वहाँका थप आयाम वारे जानकारी खुल्नेछ । हामी उजागर गरिरहनेछौ ।
आफ्नो अत्यन्तै व्यस्त समयको प्रवाह नगरी  हामीलाई साबिक खोँपदेश घुमाइदिनु भयो । उपयुक्त समय मिलाएर यहाँ रहेको वागेश्वर शिवलिङ्गको पनि अवलोकन र दर्शन गराइदिनु हुनेछ भन्ने आशा लिदै यो अत्यन्त उपलब्धी मुलक भ्रमण गराउनु भएकोमा म र मेरा मित्र पदम दाहालको तर्फबाट आजका हाम्रा अग्रज अग्रदर्शी इन्दुल केसीज्युमा  हार्दिक धन्यवाद टक्रयाउँछु ।

                         
  पदम दाहाल                                              डा इन्दुल केसी                      
समाप्त
                        २०८३ असार १४, आइतबार

Comments