सम्झनामा गोदावरीको बाह्र वर्षे कुम्भ मेला २०७२


असार ८, २०८३, सोमबार | राति ०७:३९ बजे | 140


सम्झनामा गोदावरीको बाह्र वर्षे कुम्भ मेला २०७२

वीर बहादुर शाह
रचनाकार
९८६८५७८६३५ 
काठमाडौं, बिजुलीबजार
शुभारम्भ 
नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको गोदावरी नगरपालिकामा अवस्थीत गोदावरी÷ क्षेत्र सुदूरपश्चिम प्रदेश क्षेत्रभरीमा रहेका पवित्र स्थलहरुमा एक महत्वपूर्ण धार्मिक क्षेत्रको रुपमा सुपरिचित छ । उक्त प्रदेशको तराई क्षेत्रमा पर्ने गोदावरी चुरे पहाड संगै जोडिएको छ । उक्त क्षेत्र सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली जिल्लाको धनगढीबाट २४ कि.मी. उत्तरमा अवस्थीत छ । गोदावरी क्षेत्र धार्मिक रुपमा पवित्र स्थल भएकोले हरेक वाह्र वर्षको माघ महिनामा सो ठाँउमा धार्मिक कुम्भ मेला महिना भरी नै लाग्ने गरेको छ । जसमा प्राय जसो सुदूर पश्चिमका नौ वटै जिल्लावाट श्रदालु भक्तजनहरुले गोदावरी नदिमा स्नान गरेर मेला पर्वलाई हर्ष उल्लासका साथ मनाइन्छ । 
वि.सं. २०७२ सालमा भएको उक्त मेला पर्वको अवसरमा भक्तपुरबाट उक्त मेला मनाउन पाल्नु भएका स्वामी कल्याण मित्र र डा. इन्दुल के.सी. – योग गुरु तथा प्राकृतिक चिकित्सकसंग हाम्रो भेट भएको थियो । सोही समयमा हामी पनि काठमाडौं विजुली वजारवाट उक्त मेला पर्वलाई मनाउन गएका थियौं । गोदावरीको श्री हनुमान मन्दिरको धर्मशालामा हामी सवैजनाले तीन दिन तीन रात संगै बिताएका थियौं । हरेका दिन विहान नित्यकर्म र स्नान पश्चात धार्मिक कार्य पूजा, आराधना र प्रार्थनाका कार्यहरु सम्पन्न गरिन्थ्यो । 
उक्त समयमा त्यो ठाँउमा गएका काठमाडौंका नयाँ मान्छेका लागि विरानो ठाँउ भएपनि हाम्रो पहिलेको लामो समयसम्मको सोही क्षेत्रको वसोवासका कारण आफन्तहरुसंगको भेटघाटले गर्दा निक्कै रमाइलो महशुस गरेका थियौं । तीन दिनसम्ममा हामी संगै वस्ने क्रममा एकअर्का संग निक्कै परिचित हुने अवसर जुरेको थियो । स्थानीय भक्तजनहरुसंगको भेटघाट र न्यानो आथित्यताबाट काठमाडौं वाट पाल्नु भएका स्वामी कल्याण मित्र लगायत डा. इन्दुल केसी आफ्नो खानपान, वसाईको प्रवन्ध सोचेको भन्दा एकदम राम्रो भएको भनेर निकै खुशी हुनु भएको थियो । 
सवै कुराको राम्रो प्रबन्ध हुदाँहुदै पनि दोश्रो दिनको वेलुका केही भक्तजन मित्रहरुलाई स्वास्थ्य समस्या पर्ने गएको थियो । खासगरि मेरी श्रीमती ईन्दिरा राज्य लक्ष्मी शाह लाई पनि हात खुटा पोल्ने, जीउ दुख्ने, र पेटको समस्याले सताएको समयमा डा. इन्दुल के.सी ले उपचार सेवा दिनु भएको थियो । उक्त उपचार सेवा प्राप्त गर्नेहरुमा श्रीमती इन्दिरा राज्य लक्ष्मी शाह लगायत अन्य आधा दर्जन भक्तजनहरु हुनुहुन्थ्यो । उहाँहरुको पनि विविध स्वास्थ्य समस्या टड्कारो समस्याको रुपमा वढ्दै गएको थियो । 
भव्य स्वागत कार्यक्रम
भोलीपल्ट त्यही मन्दिरको ठूलो सभा हलमा एउटा राम्रो भव्य स्वागत कार्यक्रमको आयोजना भएको थियो । उक्त कार्यक्रम गोदावरी कुम्भ मेलाका अध्यक्ष श्री मदनराज पाण्डेज्यूको अध्यक्षतामा भएको थियो । त्यसमा अधिल्लो दिनमा केही भक्तजनहरुमा भएको स्वास्थ्य समस्या र डा. इन्दुल के सी. ज्यू ले गर्नु भएको प्राकृतिक उपचारका कारणले आफ्नो आफ्नो रोग निको भएको अनुभव सबैले सभामा प्रस्तुत गर्नु भएको थियो । भक्तजनहरुले गर्नु भएको विभिन्न रोगको उपचार बारेमा चर्चा पश्चात सर्वेले डा. इन्दुल के.सी. ज्यू लाई उहाँले गरेको स्वस्थ्य उपचारमा गरेको योगदानको लागि धन्यवाद व्यक्त गर्नु भएको थियो । साथै रुद्राक्षको माला, र रामनामको पछ्यौरा प्रदान गरेर उहाँको सम्मान पनि गरिएको थियो । उक्त समयमा स्थानीय पत्र पत्रिका र एफ. एम. रेडियोले समेत केही भक्तजनमा भएको स्वास्थ्य समस्या र डा. के.सी.ले गर्नुभएको उपचारको वारेमा समाचार प्रकाशन र प्रशारण गरेका थियो । 
अन्तमा
अर्को दिन गोदावरी नदीको पारी रहेको शिव मन्दिरमा हाम्रो टोली पुगेर सो मन्दिरका महन्त श्री तुलसी गिरीजी संग पनि महत्वपूर्ण भेटघाट गरेर गोदावरी क्षेत्रको ऐतिहासिक र धार्मिक महत्वको बारेमा छलफल सम्पन्न भएको थियो र सो क्षेत्रको वारेमा विस्तृत जानकारी लिने कार्य भएको थियो । हाम्रा काठमाडौंवाट जानु भएका स्वामी कल्याण मित्र ज्यू लगायत डा. इन्दुल केसी ज्यू ले अन्तमा सो क्षेत्रमा रहेको पुलको पनि हामी सवैले एकसाथ निरीक्षण तथा अवलोकन गरेका थियौ । 
२०८२ असार ६ गते 
 

फाेटाेमा हेर्नुहाेस्...

सम्झनामा गोदावरीको बाह्र वर्षे कुम्भ मेला २०७२

Comments