प्रथम उपमेयर कप खो खो प्रतियोगिता


असार ८, २०८३, सोमबार | राति ०७:३३ बजे | 55


प्रथम उपमेयर कप खो खो प्रतियोगिता

काठमाडौँ, असार ८ गते । काठमाडौँ महानगरपालिकाले असार १० देखि चारदिनसम्म विद्यालय स्तरीय प्रथम उपमेयर कप खो खो प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा काठमाडौँ महानगरभित्रका विभिन्न १० सामुदायिक विद्यालयका पुरुष र महिलामा गरी १८ टोलीको सहभागिता हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा काठमार्डौँ महानगरपालिका खो खो सङ्घका अध्यक्ष दीपक महर्जनले जानकारी दिनुभयो ।

नेपाल खो खो सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित खो खो हलमा खेलाइनेछ । सहभागी टोलीलाई लिग कम नक आउटका आधारमा प्रतिस्पर्धा गराइनेछ । काठमाडौँ महानगरपालिकाको ३० लाख र आयोजक काठमार्डौँ महानगरपालिका खो खो सङ्घको ६ लाख गरी कूल ३६ लाख रुपियाँ लगानीमा सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ विजेता टोलीले ५० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले १० हजार रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै वेस्ट रनर र चेजरलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । सहभागी विद्यार्थीहरुको लागि जनही एकलाख रुपियाँको उपचार विमाको व्यवस्था गरिएको छ । यस्तै, १० दिनसम्म प्रशिक्षण खाजा, खेल अवधिभर खाना र खाजा, जर्सीहरुलगायतका सुविधाहरु पनि दिइनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई आगामी राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशबाट खेल्ने मौका प्रदान गरिने नेपाल खो खो सङ्घका अध्यक्ष प्रदिप महर्जनले बताउनुभयो । उहाँले नयाँ दिल्लीमा आयोजित प्रथम विश्वकप प्रतियोगितामा नेपालका दुबै टोली दोश्रो भएर आए पनि अहिलेसम्म पाउनुपर्ने नगद पुरस्कार सम्बद्ध पक्षले नदिएको गुनासो गर्नुभयो । आउँदा दिनमा विश्वकपमा पहिलो स्थान पाउन सक्ने एउटै खेलको रुपमा अहिलेसम्म यस खेल देखिएकाले सम्बद्ध क्षेत्रले आवश्यक ध्यान दिन जरुरी रहेको बताउनुभयो । प्रतियोगितामा विश्वनिकेतन, सहिद शुक्र, शान्ति निकुञ्ज, महाँकाल, जनप्रभात, सर्वेश्वर, भिमसेनगोला, बाँसबारी माविले पुरुष प्रतियोगितामा र यी आठसहित कन्या मन्दिर र पद्मकन्या माविले महिला समूहमा प्रतिस्पर्धा गरिनेछन् । कीर्तिपुरस्थित सबै खेलहरु विहान ७ बजेदेखि खेलाइनेछन् । पत्रकार सम्मेलनमा प्रतियोगिताको लोगो पनि सार्वजनिक गरिएको थियो ।

Comments