जनप्रतिनिधि: जनमतको 'प्रतिलिपि' कि अवसरवादको बन्धक?
बैशाख १४, २०८३, सोमबार | दिउँसो ०३:३८ बजे | 315
राजेश शिल्पकार
हाम्रो लोकतान्त्रिक अभ्यासभित्र एउटा गम्भीर 'मनोवैज्ञानिक विचलन' झाङ्गिँदै गएको छ— पद प्राप्तिको क्षणमै कुनै व्यक्तिलाई 'सर्वज्ञानी' वा 'विलक्षण' मानिदिने प्रवृत्ति। निर्वाचनमा विजय प्राविधिक र राजनीतिक प्रक्रिया हो, तर यसलाई 'बौद्धिक रूपान्तरण' को प्रमाणपत्र मान्नु समाजको ठूलो भ्रम हो। मतदाताले दलीय निष्ठा, तत्कालीन परिस्थिति वा विकल्पको सीमितताका कारण मतदान गर्छन्। निर्वाचन जित्दैमा कसैको प्रज्ञा वा चिन्तनमा रातारात गुणात्मक परिवर्तन आउँदैन। वास्तवमा, एक जिम्मेवार जनप्रतिनिधि भनेको जनभावनाको 'मौलिक प्रतिलिपि' (Original को Copy) मात्र हो, जसले संसद्मा मतदाताको आवाजलाई जस्ताको तस्तै प्रस्तुत गर्नुपर्छ। तर विडम्बना! हाम्रा माननीयहरू आज जनमतको 'ऐना' बन्नुको साटो 'पदेन महानता' को कृत्रिम बोझले थिचिएर जनधरातलबाट विमुख भइरहेका
राजनीतिक नेतृत्वको पतनमा बाह्य आलोचनाभन्दा आन्तरिक 'चाप्लुसी' बढी घातक हुने गर्दछ। नेतृत्वको वरिपरि रहने 'अवसरवादी र नोकर प्रवृत्ति' को झुण्डले नेतालाई यथार्थबाट टाढा राखेर 'प्रशंसाको टापु' मा कैद गर्छ। इतिहास साक्षी छ— हिजो आफूलाई 'सिसौ' काठ जस्तो कडा र अडिग ठान्ने नेतृत्वहरू तिनै चाप्लुसीका धमिराहरूले खोक्रो बनाएका कारण ढले।
आजको सन्दर्भमा जो आफूलाई 'हलु' काठ(नरम र लचिलो) काठको रूपमा प्रस्तुत गर्दैछन्, उनीहरूका लागि यी धमिराहरू झन् बढी भोका र खतरनाक सिद्ध हुन सक्छन्। सिसौ जस्तो कडा काठलाई धुलो बनाउन धमिरालाई वर्षौँ लाग्यो होला, तर 'हलु' काठलाई त चाप्लुसीको एउटै लहरले एकै रातमा नष्ट गरिदिन सक्छ। त्यसैले, नेतृत्वले आफू कुन जातको काठ हुँ भनेर गर्व गर्नुभन्दा पनि, आफ्नो आधारमा कति धमिरा पालिएका छन् भनेर आत्मसमीक्षा गर्नु नै राजनीतिक बुद्धिमानी हुनेछ।
१. इतिहासको निर्मम ऐना: ओली-पतनको सन्देश
केपी शर्मा ओलीको राजनीतिक शक्ति क्षयीकरणको मुख्य कारण उहाँको वाककला वा चतुरताको कमी थिएन, बरु उहाँको वरिपरि निर्मित 'घेराबन्दी' थियो। जब नेतृत्व 'एस म्यान' (जी-हजुरी गर्नेहरू) को चक्रव्यूहमा फस्छ, तब उसले वास्तविक जनभावना र पार्टीभित्रको असन्तुष्टि देख्ने सामर्थ्य गुमाउँछ। आलोचनालाई 'शत्रुता' र प्राज्ञिक सुझावलाई 'षड्यन्त्र' देख्ने दृष्टिभ्रम चाप्लुसीकै जगमा उभिएको हुन्छ।
जब नेतृत्वले आफ्नो त्रुटी औँल्याउने 'ऐना' (सच्चा आलोचक) लाई फुटाइदिन्छ, तब उसको पतनको उल्टो गन्ती सुरु हुन्छ। यही प्रवृत्तिको सिका सन्तुलित र बौद्धिक विचारका धनी सन्तोष परियार जस्ता पात्रहरू समेत हुँदा समग्र राजनीतिको प्राज्ञिक स्तर नै ओरालो लागेको देखिन्छ।
१. 'पदेन बौद्धिकता' र तडकभडकको मानसिक बोझ
समाजले जनप्रतिनिधिलाई 'पदेन महानता' को यस्तो भार बोकाइदिएको छ कि उनीहरू नीति निर्माण जस्तो गम्भीर दायित्व छाडेर अनुत्पादक तडकभडकमा अलमलिएका छन्। शुभकामना, बधाई र उद्घाटनका नाममा भइरहेको समय र ऊर्जाको अपव्ययले लोकतन्त्रको गुणस्तर घटाएको छ। एउटा सांसद सधैँ यस्तो कृत्रिम बोझमा हुन्छ कि कतै हिँड्ने बाटोमा विनासित्ती 'रेड कार्पेट' ओछ्याइदिने हो कि वा अनावश्यक सम्मानको नाटक गरिने हो कि! फोनकल र म्यासेजको चापमा अल्झिएका माननीयहरूसँग देशको भविष्य कोर्ने गम्भीर दृष्टिकोण बनाउने समय नै बाँकी रहँदैन। यो 'सस्तो लोकप्रियतावाद' (Populism) ले राजनीतिलाई केवल एउटा भद्दा नाटकमा सीमित गरिरहेको छ।
१. भक्तपुरको सचेत धरातल र आगामी चुनौती
सांस्कृतिक र वैचारिक रूपमा उर्वर भक्तपुर जिल्लाको सन्दर्भमा मतदाताले सधैँ इमानदारिता र निष्ठालाई सर्वोपरि मानेका छन्। यहाँको जनमतले उम्मेदवारको सतही बौद्धिकता भन्दा पनि उसको समर्पण र धरातलीय सम्बन्धलाई कदर गर्छ। तर, यहाँ पनि यदि कोही प्रतिनिधि 'प्रशंसाको नशा' मा परेर अवसरवादीहरूको बन्धक बन्छ भने, सचेत मतदाताले त्यसको वस्तुपरक हिसाबकिताब राख्ने नै छन्।
निष्कर्ष: चेतनाको आह्वान
यो कुरा समाज र नेतृत्व दुवैले जति चाँडो बुझ्छन्, त्यति नै छिटो लोकतन्त्रको शुद्धीकरण सम्भव छ। माननीयज्यूहरू, ती अवसरवादी र चाकडीबाजहरूबाट जोगिनुस् जसले तपाईँलाई 'देउता' बनाएर जनताको पहुँचभन्दा टाढा राख्न चाहन्छन्। तपाईँको जयजयकार गर्ने हरेक स्वर तपाईँको हितैषी होइन, तीमध्ये धेरै त तपाईँको शक्तिको आडमा आफ्नो रोटी सेक्न खोज्ने परजीवी मात्र हुन्।
जबसम्म हामी जनप्रतिनिधिलाई 'विशिष्ट' होइन 'जिम्मेवार' र 'उत्तरदायी' बनाउँदैनौँ, तबसम्म व्यवस्था बदलिए पनि अवस्था बदलिने छैन। पद अस्थायी अलंकार मात्र हो, तर तपाईँको इमानदारिता र भुइँमान्छेसँगको सम्बन्ध नै तपाईँको वास्तविक राजनीतिक पुँजी हो। सिसौ ढल्नु एउटा घटना थियो, तर हलु काठ धुलो हुनु एउटा नियति बन्न सक्छ— यदि समयमै चाप्लुसीको धमिरालाई चिनिएन भने।
