जुवातास खेल्दै गरेका ६ जना भक्तपुरबाट पक्राउ
चैत ८, २०८२, आइतबार | राति ०८:२० बजे | 835
भक्तपुर, चैत ८ — भक्तपुर प्रहरीले जुवातास खेल्दै गरेका ६ जनालाई नियन्त्रणमा लिएको छ। मध्यपुरठिमी नगरपालिका–४ नयाँठिमीस्थित ग्रिस्मा खाजा घरमा जुवातास भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले छापा मारेको हो।
प्रहरीका अनुसार छापामार क्रममा उक्त खाजा घरभित्र पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिइएको हो। घटनास्थलबाट ७ बुक तास र नगद रु. १९,१६५ बरामद गरिएको प्रहरीले जनाएको छ।
जुवातास जस्तो अवैध क्रियाकलाप नियन्त्रण गर्न प्रहरी सक्रिय रूपमा निगरानी बढाइरहेको जनाएको छ। यस्ता गतिविधिले सामाजिक तथा आर्थिक रूपमा नकारात्मक प्रभाव पार्ने भएकाले नियन्त्रण अभियानलाई तीव्र बनाइएको प्रहरीको भनाइ छ।
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी मुद्दा अघि बढाइने पनि प्रहरीले जानकारी दिएको छ।
