फागुनमा भक्तपुरमा ४८ जना पक्राउ


चैत २, २०८२, सोमबार | राति ०९:३० बजे | 285


फागुनमा भक्तपुरमा ४८ जना पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले फागुन महिनामा जिल्लाभर विभिन्न प्रकारका १४५ वटा मुद्दा दर्ता भएको जनाएको छ। तीमध्ये ६३ मुद्दा फर्छ्योट गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फागुन महिनामा विभिन्न अपराधमा संलग्न ४८ जनालाई पक्राउ गरिएको छ भने १०२ जना फरार रहेका छन्। जघन्य तथा गम्भीर अपराधतर्फ अपहरण तथा शरीर बन्धक १, लागूऔषध ३, हातहतियार तथा खरखजना १ र जबरजस्ती करणी ३ गरी जम्मा ८ वटा मुद्दा दर्ता भएका छन्।

आर्थिक अपराधतर्फ बैंकिङ कसुरका ४४, चोरीका १२ र ठगीका ३ गरी कुल ५९ मुद्दा दर्ता भएको विवरणमा उल्लेख छ। लागूऔषध सम्बन्धी ५ वटा मुद्दामा ११ जनालाई पक्राउ गरिएको छ भने खैरो हेरोइन, ट्रामाडोल क्याप्सुल, नाइट्राजेपाम, प्रेगाबिलिन लगायतका विभिन्न औषधि बरामद गरिएको प्रहरीले जनाएको छ।

फागुन महिनामा १२ वटा आत्महत्याका घटना भएको प्रहरी तथ्यांकले देखाएको छ। जसमा विष सेवन गरी ३ जना र झुण्डिएर ९ जनाले आत्महत्या गरेका छन्।

यस्तै, फैसला कार्यान्वयन अन्तर्गत १७ जनालाई पक्राउ गरी २ वर्ष ५ महिना १९ दिन कैद तथा २१ लाख १२ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।

यस अवधिमा जिल्लामा १५४ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ७४ जना घाइते भएका छन्। प्रहरीका अनुसार ती दुर्घटनामा मादक पदार्थ सेवन, तीव्र गति, चालकको लापरवाही तथा सडकमा ध्यान नदिनु प्रमुख कारण रहेका छन्।

प्रहरीले अपराध नियन्त्रणका लागि चेकपोस्ट सञ्चालन, मोबाइल तथा पैदल गस्ती, विद्यालय र समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन लगायतका गतिविधि गरेको जनाएको छ।

Comments