भक्तपुर नगरपालिका–८ लिवाली बस्ने ४० वर्षीय नविन तुईतुई पक्राउ
फाल्गुन २८, २०८२, बिहीबार | राति ०८:४० बजे | 1310
भक्तपुर, २७ फागुन — जिल्ला प्रहरी परिसर भक्तपुरले फैसला कार्यान्वयनका क्रममा चेक अनादर तथा बैंकिङ कसुर मुद्दाका फरार चार जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ।
प्रहरीका अनुसार मिति २०८२ फागुन २७ गते भक्तपुर जिल्लाका विभिन्न स्थानबाट चेक अनादर मुद्दाका दुई जना र बैंकिङ कसुर मुद्दाका दुई जना गरी चार जनालाई पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा दाखिला गरिएको हो।
पक्राउ परेकामध्ये भक्तपुर नगरपालिका–८ लिवाली बस्ने ४० वर्षीय नविन तुईतुई चेक अनादर मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन्। अदालतले उनलाई २ वर्ष कैद र १ हजार १ सय रुपैयाँ जरिवानाको सजाय तोकेको छ। उक्त मुद्दामा १५ लाख रुपैयाँ बिगो खुल्न आएको प्रहरीले जनाएको छ। उनलाई सोही दिन कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौं चलान गरिएको छ।
त्यसैगरी सूर्यविनायक नगरपालिका–९ काँक्रावारी बस्ने २० वर्षीय रन्जित तामाङ बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका छन्। अदालतले उनलाई ५ दिन कैद र ४ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। उनलाई पनि सोही मितिमा कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौं चलान गरिएको प्रहरीले जनाएको छ।
फरार प्रतिवादीलाई खोजी गरी फैसला कार्यान्वयन गर्ने अभियानलाई प्रहरीले निरन्तरता दिएको बताएको छ।
