लोकन्थलीबाट ३६० लिटर अवैध घरेलु मदिरा बरामद, एक पक्राउ
फाल्गुन २८, २०८२, बिहीबार | साँझ ०६:१० बजे | 145
भक्तपुर, फागुन २८ — भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली हेल्थपोष्ट नजिकबाट प्रहरीले ३६० लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ।
अन्दाजी बिहान १० बजेतिर अवैध रुपमा घरेलु मदिरा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग सानोठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मदिरा फेला पारेको हो।
प्रहरीका अनुसार जिल्ला सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौंको मुलपानी बस्ने २२ वर्षीय साङदोर्जे लामाले बा.प्र.०१–०२६ च १०४३ नम्बरको खानेपानी बोक्ने हात्ती गाडीमार्फत मदिरा ओसारपसार गरिरहेका थिए।
जाँचका क्रममा उक्त गाडीमा राखिएको २० लिटर क्षमताका १८ वटा पानीको जारमा जम्मा ३६० लिटर अवैध घरेलु मदिरा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले चालक लामालाई नियन्त्रणमा लिई बरामद गरिएको मदिरासहित आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय भक्तपुर पठाएको जनाएको छ।
