पौष महिनामा भक्तपुरमा १४६ अपराध दर्ता, ८ गम्भीर प्रकृतिका
माघ ३, २०८२, शनिबार | विहान ०८:३० बजे | 105
पाँच जनाको सवारी दुर्घटनामा मृत्यु, बैंकिङ कसुर सबैभन्दा धेरै
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरमा पौष महिनाभर कुल १४६ वटा विभिन्न प्रकृतिका अपराध दर्ता भएका छन् । तीमध्ये ८ वटा जघन्य तथा गम्भीर अपराधका घटना रहेका छन् । प्रहरीका अनुसार ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, जबरजस्ती करणी, मानव बेचबिखन उद्योग तथा डाँका चोरी जस्ता गम्भीर अपराधहरू दर्ता भएका हुन् ।
प्रहरी तथ्याङ्कअनुसार पौष महिनामा बैंकिङ कसुरका ६४ मुद्दा दर्ता भई आर्थिक अपराध सबैभन्दा बढी देखिएको छ । यस्तै चोरी १०, ठगी ९, जुवा ८ लगायत गरी कुल ९३ वटा आर्थिक अपराधका घटना दर्ता भएका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ५ वटा अपराध दर्ता भएका छन् । तीमध्ये जबरजस्ती करणी २, मानव बेचबिखन उद्योग १, बाल यौन दुरुपयोग १ र बहुविवाह १ घटना रहेको प्रहरीले जनाएको छ ।
१२९ जना प्रतिवादी पक्राउ
पौष महिनामा दर्ता भएका चालू मुद्दामा १२९ जना प्रतिवादी पक्राउ परेका छन् । फैसला कार्यान्वयनका क्रममा ४९ जनालाई पक्राउ गरी ५५ लाख ८१ हजार १०० रुपैयाँ बिगो असुल उपर गरिएको छ भने ४ वर्ष ४ दिन कैद सजाय कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ ।
लागूऔषध र आत्महत्याका घटना
लागूऔषधसम्बन्धी ५ वटा मुद्दा दर्ता भई ५ जनालाई पक्राउ गरिएको छ । यस क्रममा १५ ग्राम खैरो हेरोइन र २३४ थान ट्रामाडोल क्याप्सुल बरामद गरिएको छ ।
पौष महिनामा आत्महत्यासम्बन्धी ६ घटना दर्ता भएका छन् । तीमध्ये झुण्डिएर मृत्यु, विष सेवन तथा आत्महत्या दुरुत्साहनका घटना रहेका छन् ।
१८१ सवारी दुर्घटना, ५ को मृत्यु
सवारी दुर्घटनाका घटनामा उल्लेख्य वृद्धि देखिएको छ । पौष महिनामा १८१ वटा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही, तीव्र गति र मादक पदार्थ सेवन रहेको प्रहरीको विश्लेषण छ । चेकजाँचका क्रममा ८३२ सवारी साधनमाथि कारबाही गरी ८ लाख ७५ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ ।
अपराध न्यूनीकरणका लागि व्यापक गस्ती
प्रहरीले अपराध नियन्त्रणका लागि मोबाइल गस्ती, नाका चेकपोइन्ट, पैदल गस्ती, सीसीटीभी जडान, विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । साथै ‘हाम्रो प्रहरी’ कार्यक्रमको शुभारम्भ गरी समुदाय–प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाइएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी प्रकाश बोगटीले जानकारी दिनुभयो ।
