वासिङ मेसिनमा दुर्घटना, एक महिलाको मृत्यु
फाल्गुन २, २०७७, आइतबार | दिउँसो ०१:२१ बजे | 0
भक्तपुर । भक्तपुरको सूर्यविनायकमा एक महिलाको मृत्यु भएको छ। कपडा वासिङ सेन्टरमा काम गर्ने क्रममा आइतबार एकजना महिला मजदुरको मृत्यु भएको हो। दोलखा भीमेश्वर नगरपालिका वडा नं. ९ लाकुरीडाँडा घर भई हाल सोही वासिङ सेन्टरमा काम गर्ने बर्ष ३८ की कमला के.सीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
वासिङ मेसिनमा राख्ने केमिकल बनाउने क्रममा वासिङ मेसिनभित्र घुम्ने फलामको रडमा अचानक पर्न जाँदा घाइते भएकी महिलाको मृत्यु भएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए ।
जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ५ चुनदेवीमा रहेको लाईभ स्टार कपडा वासिङ सेन्टरमा घाइते भई अचेत अवस्थामा लडिरहेको देखी सोही कम्पनीका संचालक साजन पराजुलीले तत्काल उपचारको लागी मध्यपुर ठिमी अस्पताल उपचारको लागि पठाएको थियो ।
प्रहरी टोली घटनास्थल पुगी प्रारम्भिक अनुसन्धान तथा सोधपुछ गरी अस्पतालमा बुझ्दा गम्भिर घाइते के.सी. अस्पताल पु¥याउदा नै मृत्यु भएको भन्ने सम्बन्धित चिकित्सकले जानकारी दिएको जनाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।