भनपा ८ मालपोत र सूर्यविनायक ५ चुनदेवीमा छापा
पुष ८, २०८२, मङ्गलबार | राति १०:११ बजे | 335
भक्तपुर । भक्तपुरको विभिन्न स्थानमा जुवातास खेलिरहेको ठाउँहरुमा प्रहरीले छापा मार्दा १७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर नगरपालिका वडा नं. ८ मा रहेको मालपोत कार्यालय नजिकै पैसाको हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा प्रहरी टोलीले छापा मारेको थियो । उक्त क्रममा ७ जनालाई नियन्त्रणमा लिइएको छ । घटनास्थलबाट ६ बुक तास र नगद ७३ हजार ७२५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, सूर्यविनायक नगरपालिका वडा नं. ५ चुनदेवीस्थित एक पक्की घरमा पैसाको हारजित हुने गरी जुवा तास खेलिरहेको सूचनाका आधारमा प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको टोलीले छापा मार्दा १० जना लाई नियन्त्रणमा लिएको छ । उक्त स्थानबाट ३ बुक तास र नगद १ लाख ५२ हजार ४ सय रुपैयाँ बरामद गरिएको छ ।
नियन्त्रणमा लिइएका सबैलाई प्रहरी वृत्त जगाती भक्तपुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
