यस्तो देखियो मंसिर महिनाभर भक्तपुरमा अपराधका घटनाः जवरजस्ती करणीका चार मुद्धा दर्ता


पुष २, २०८२, बुधबार | साँझ ०५:५३ बजे | 140


यस्तो देखियो मंसिर महिनाभर भक्तपुरमा अपराधका घटनाः जवरजस्ती करणीका चार मुद्धा दर्ता

भक्तपुर। मंसिर महिनाभर भक्तपुर जिल्लामा अपराध नियन्त्रण, शान्ति सुरक्षा र जनसेवामा प्रहरीको सक्रियता तीव्र देखिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार मंसिर महिनामा कुल १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये १४ वटा जघन्य तथा गम्भीर प्रकृतिका अपराध रहेको तथ्याङ्कले देखाएको छ ।

जघन्य अपराधतर्फ लागू औषधसम्बन्धी ८, जबरजस्ती करणी ४ तथा मानव बेचबिखनका २ वटा मुद्दा दर्ता भएका छन् । विशेषगरी महिला र बालबालिकामाथि हुने अपराध अझै चुनौतीकै रूपमा देखिएको प्रहरीको निष्कर्ष छ ।

बैंकिङ कसुरको संख्या सबैभन्दा बढी

आर्थिक अपराधतर्फ बैंकिङ कसुरका ६७ वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक ठगीसम्बन्धी ४ वटा मुद्दा पनि प्रहरीको अभिलेखमा परेका छन् । प्रविधिको बढ्दो प्रयोगसँगै बैंकिङ कसुर बढ्दै गएको भन्दै प्रहरीले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

७० प्रतिवादी पक्राउ, दुई कर्तव्य ज्यान मुद्दाको सफल अनुसन्धान

चालू मुद्दामा ७० जना प्रतिवादी पक्राउ परेका छन् । सार्वजनिक चासोका दुई वटा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सफल अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
फैसला कार्यान्वयनका क्रममा ३७ जनालाई पक्राउ गरी ३८ लाख १३ हजार ८ सय रुपैयाँ जरिवाना असुली गरिएको छ । यस अवधिमा ७ वर्ष ६ महिना १६ दिन कैद सजाय कार्यान्वयन भएको छ ।

महिला, बालबालिका र ज्येष्ठ नागरिकसम्बन्धी उजुरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा डेस्कमा ४९ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये ३३ वटा मिलापत्रबाट टुंग्याइएको छ भने १६ वटा उजुरी अनुसन्धानको क्रममा रहेका छन् । दर्ता भएका मुद्दामा जबरजस्ती करणी, मानव बेचबिखन, बालयौन दुरुपयोग लगायतका गम्भीर अपराध समावेश छन् ।

लागू औषध नियन्त्रणमा ठोस कारबाही

मंसिर महिनामा लागू औषधसम्बन्धी ८ वटा मुद्दा दर्ता गरी १२ जनालाई पक्राउ गरिएको छ । प्रहरीले नुफिन, ट्रामाडोल, खैरो हिरोइन, पोल्याण्ड लगायतका ठूलो परिमाणमा लागू औषध बरामद गरेको जनाएको छ ।

घरेलु हिंसा र आत्महत्या

घरेलु हिंसासम्बन्धी २० वटा उजुरी दर्ता भएका छन् । तीमध्ये ११ वटा मिलापत्रबाट समाधान गरिएको छ ।
यसैगरी मंसिर महिनामा आत्महत्यासम्बन्धी ७ वटा घटना दर्ता भएका छन्, जसले सामाजिक सचेतनाको आवश्यकता देखाएको छ ।

एमाले महाधिवेशनमा १४५० प्रहरी परिचालन

नेकपा एमालेको ११औँ महाधिवेशनका क्रममा सम्भावित झडप, चोरी, पकेटमार, लुटपाट तथा ट्राफिक जाम न्यूनीकरणका लागि १४५० जना प्रहरी परिचालन गरिएको थियो । यस अवधिमा कुनै पनि अप्रिय घटना हुन नदिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु शून्य

मंसिर महिनामा १८० वटा सवारी दुर्घटना हुँदा ११९ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु नभएको प्रहरीले जनाएको छ । चेकिङका क्रममा ८८६ वटा सवारी कारबाही गरी ७ लाख ९९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ ।

समुदायसँग सहकार्य

प्रहरीले लागू औषध, साइबर अपराध, लैङ्गिक हिंसा, बाल सुरक्षा लगायत विषयमा समुदाय र विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । ती कार्यक्रममा ३ हजार ७ सय ६१ जनाको सहभागिता रहेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरले अपराध नियन्त्रण, शान्ति सुरक्षा र समुदाय–प्रहरी सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।

Comments