आदर्श साइकल संस्कृति निर्माणमा साइकल अभियनाको समुदायिकरण र बुद्धिजीविकरण अपरिहार्य : वक्ताहरू


असोज १२, २०८२, आइतबार | विहान ११:३८ बजे | 90


आदर्श साइकल संस्कृति निर्माणमा साइकल अभियनाको समुदायिकरण र बुद्धिजीविकरण अपरिहार्य : वक्ताहरू

भक्तपुर, असोज ११, २०८२
साइकल कनेक्ट भक्तपुरको आयोजनामा नेपालीहरूको महान् पर्व विजयादशमी, तिहार, नेपाल संवत् ११४६ न्हुँ दँ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा समिक्षा कार्यक्रम शनिबार भक्तपुरको क्लब बागमतीमा सम्पन्न भएको छ।

विशिष्ट आतिथ्यतामा रहेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, साइकल अभियन्ता तथा “साइकल सौन्दर्य” पुस्तकका लेखक प्रा.डा. तारालाल श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै स्पष्ट विचारसहितको सानो जमातलेपनि समाजमा दीर्घकालीन प्रभाव पार्न सक्ने उल्लेख गर्नुभयो। उहाँले साइकल कनेक्ट भक्तपुरले समुदायलाई समेटेर काम गरिरहेको ढाँचाले नेपालमा साइकल संस्कृतिको विकासमा गहिरो छाप परेको बताउनुभयो। साथै काठमाडौं उपत्यका विश्वकै उत्कृष्ट साइकल शहर बन्न सक्ने सम्भावना रहेको तर अव्यवस्थित विकासका कारण यो क्षमतामा असर परेको उल्लेख गर्दै भविष्यमा साइकल संस्कृतिबाटै उपत्यका विश्व परिचित हुने विश्वास व्यक्त गर्नुभयो। साथै नेपाललाई विदेशीहरूले नै उत्कृष्ट माउन्टेन बाइकिङ गन्तव्यका रूपमा स्वीकार गरिरहेको तर यसको उचित विकासका लागि सम्बन्धित नेतृत्वले अझ बढी मिहिनेत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

सो कार्यक्रममा विगत पाँच वर्षमा साइकल कनेक्ट भक्तपुरले गरेका गतिविधिको समिक्षासँगै आगामी योजनाबारे छलफल गरिएको थियो। संस्थापक अध्यक्ष सुमित बालाले संगठनले स्पष्ट मार्गचित्रका साथ आदर्श साइकल संस्कृति निर्माणमा योगदान दिइरहेको र यसमा स्थानिय समुदायको निरन्तर सहयोग नै मुख्य प्रेरणा भएको बताउनुभयो। उहाँले सामाजिक जिम्मेवारीबोधसहित निस्वार्थ सेवामा आधारित कार्यले समुदायको विश्वास र सहकार्य प्राप्त हुने प्रष्ट पार्नुभयो। साथै युवापुस्ताले आफ्नै विश्वभरबाट सिकेर आफ्नै परिवेशलाई चिन्नु र स्थानिय समस्याको समाधान त्यहीँबाट खोज्न सक्षम हुनु आवश्यक रहेको र यसो गर्न सकेमा यो कार्य विश्वस्तरमै उदाहरण बन्न सक्ने धारणा सहित साइकल कनेक्ट भक्तपुरले यही गरिरहेको बताउनुभयो।

समुहका सल्लाहकार तथा कोरा मास्टर सुनिल ख्याजुले साइकल कनेक्ट भक्तपुरको सक्रियताका कारण भक्तपुरको नाम नेपालभर फैलिएकोमा गर्व व्यक्त गर्दै यस वर्ष आफुले अल्ट्रा कोरा १५० को नयाँ रूट विकास गरेको र आगामी वर्ष काभ्रे हुँदै उपत्यकालाई जोड्ने नयाँ रूट निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो। अर्का सल्लाहकार गणेश प्रसाद दुवालले साइकल कनेक्ट भक्तपुरका गतिविधिले आफुलाई निरन्तर उत्साह मिल्ने र भक्तपुरलाई चिनाउने कार्य प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमका क्रममा मोन्टाना प्लान्ट स्टुडियो, जुजु बाइक्स, कमलविनायक पोलिक्लिनिक तथा जेन्युन सेकण्डरी स्कूलसँग व्यावसायिक सहकार्य सम्झौता पनि भएको थियो। साथै “साइकल सौन्दर्य” पुस्तकको चर्चा, साइकल कनेक्ट भक्तपुरको नयाँ जर्सी सार्वजनिक तथा सदस्यता वितरण पनि गरिएको थियो।

कार्यक्रम साइकल कनेक्ट भक्तपुरका अध्यक्ष रियाज कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको थियो। उपाध्यक्ष निर्जला कोजुले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सुशन चक्रधरले गर्नुभएको थियो।

Comments