प्रहरी अभियानमा भारतीय कम्युनिष्ट पार्टी माओवादीका महासचिवसहित २७ माओवादीको मृत्यु


जेठ ८, २०८२, बिहीबार | दिउँसो १२:४६ बजे | 30


प्रहरी अभियानमा भारतीय कम्युनिष्ट पार्टी माओवादीका महासचिवसहित २७ माओवादीको मृत्यु

बुधबार राति (जेठ ७ गते) नक्सलवादीहरूविरूद्धको प्रहरी अभियानका क्रममा २७ जना भारतीय माओवादी विद्रोहीहरूको ज्यान गएको छ। भारतमा सशस्त्र विद्रोह गर्नेहरूलाई नक्सलवादी भनी चिन्ने गरिन्छ ।

मारिनेमा भारतीय प्रहरीले निकै खोजी गरेको बसव राजु पनि रहेका छन् । उनी माओवादी सशस्त्र आन्दोलनका पछिल्ला सैन्य प्रमुख र शक्तिशाली व्यक्ति थिए । उनी कारबाहीमा मारिनुलाई बस्तर जिल्ला प्रहरीको ठूलो सफलताका रूपमा लिइँदैछ ।

लामो समयदेखि भारतीय सुरक्षा बलले राजुको खोजी गरिरहेको थियो । उनको मृत्युपछि बक्सर क्षेत्रमा माओवादीको आन्दोलन अब लगभग मृत हुने भारतीय मिडियाहरूले दाबी गरिरहेका छन् ।

उनको हत्या हुनुअघि भारतीय सुरक्षा बलले दुई तरिकाले काम गरिरहेको थियो । एकातिर माओवादीविरूद्ध आक्रमण गरिरहेको थियो भने अर्कोतर्फ बस्तर क्षेत्रका आदिवासी तथा पूर्व विद्रोहीहरूलाई पुनर्स्थापनासमेत गरिरहेको थियो । केही समयअघि बसव राजूका अंगरक्षकले प्रहरीसँग आत्मसमर्पण गरेका थिए । तिनै अंगरक्षकले बसव राजुका बारेमा जानकारी दिएका थिए । उनले नै अबूझमाडको जंगलमा बसव राजुलाई फेला पारिने बताएका थिए ।

भारतका पाँच राज्यले बसव राजुको सूचना दिनेलाई विभिन्न पुरस्कार दिने घोषणा गरेका थिए । छत्तीसगढ राज्यले मात्र डेढ करोड भारू दिने घोषणा गरेको थियो । यस्तै झारखन्ड, तेलंगाना, आन्ध्रप्रदेश र महाराष्ट्रले पनि पाँच करोडभन्दा बढीको इनाम घोषणा गरेका थिए ।

वारंगल विश्वविद्यालयबाट इन्जिनियरिङ अध्ययन गरेका राजु हतियार तथा बम बनाउन जान्दथे । उनी सन् १९८० को दशकदेखि नै नक्सल आन्दोलनमा जोडिएका थिए । उनको एउटा पुरानो तस्वीर मात्र उपलब्ध छ । सोही तस्वीर अहिले मिडियामा भाइरल बनिरहेको छ । सन् २००० सम्म आइपुग्दा उनी नक्सल केन्द्रीय समितिमा नियुक्त हुँदै पछि सैन्य कमान्डर बन्न पुगेका थिए ।

सन् २०१० को दन्तेवाडा आक्रमण सबैभन्दा कुख्यात आक्रमणका रूपमा चिनिन्छ । सो आक्रमणमा माओवादीहरूले ७५ जना सीआरपीएफ (अर्द्धसैन्यबल) का जवानको हत्या गरेका थिए । यस घटनालाई बसव राजुले नै योजनाबद्ध तरिकाले अञ्जाम दिएको बताइन्छ ।

पछिल्लो समय माओवादी सशस्त्र समूहलाई निष्तेज पार्न डिआरजी ९डिस्ट्रिक रिजर्भ गार्ड०को भूमिका निकै सशक्त मानिदै आएको छ । सन् २०१५ मे १४ यो यो बेग्लै बल स्थापना गरिएको थियो । स्थानीय युवालाई बढीभन्दा बढी यसमा भर्ती गरिएको थियो । बस्तरको भौगोलिक र सामाजिक अवस्थाका जानकार यी नयाँ युवाले आन्दोलनमा भाग लिएका युवाहरूबाट पनि सहयोग लिइरहेका थिए ।

उनको हत्या हुँदा ७० वर्ष उमेरका रहेको भारतीय मिडियाहरूले जनाएका छन् ।

उनी वाराङ्गल पढ्दा विद्यार्थी संघका अध्यक्ष थिए । उनको वास्तविक नाम नम्बला केशव राव हो । सन् ८० को दशक सशस्त्र विद्रोह निकै आकर्षक नारा भएकाले उनी त्यसतर्फ आकर्षित भएको बताइन्छ । उनी सन् १९८५ मा भूमिगत भएका थिए । पिपुल्स वार ग्रुप (पिडब्लुजी) र माओवादी कम्युनिस्ट सेन्टर (२००४) एकीकृत भएपछि सीपीआई (माओवादी) गठन भएपछि उनी शक्तिशाली हुँदै गएको बताइन्छ ।

बसव राजुले भारतका विभिन्न क्षेत्रमा घुमेर उत्तरी भारत र दक्षिणी भारतका कम्युनिस्ट आन्दोलनलाई जोड्ने सेतूको काम गरेका थिए । सेतूको अभावपछि अब माओवादीहरू पुनः संगठित हुनु र भारतभर सञ्जाल निर्माण गर्नु लगभग असम्भव हुने आँकलन सरकारको छ । अब यो सशस्त्र आन्दोलन कमजोर हुने समेत केहीले दाबी गरिरहेका छन् ।

Comments