दुर्घटनामा परी स्कुटी चालकको मृत्यु
पुष २१, २०७७, मङ्गलबार | दिउँसो ०३:२१ बजे | 15
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ गठ्ठाघरस्थित उकालोमा मंगलबार भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । घटनामा परी सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट बस्ने बर्ष ५८ को नरहरी न्यौपानेको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
भक्तपुरबाट काठमाडौतर्फ जाँदै गरेको लु. २ ख. ६७८ नं. को एल.पि.ट्रकको पछाडिको भागले सोही दिशातर्फ जादै गरेको बा. ८२ प. ९७३७ नं. को स्कुटीलाई ठक्कर दिई सडकमा लडी सोही ट्रकको पछाडि पट्टिकोको चक्कामा पर्न गई स्कुटी चालक न्यौपानेको मृत्यु भएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए। महानगरीय प्रहरी बृत ठिमी भक्तपुरका सोही क्षेत्रमा गस्तीमा रहेका प्रहरी निरिक्षक पञ्चलाल गोलेको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले घाइते न्यौपानलाई उपचारको लागी नागरीक अस्पताल भक्तपुरमा पठाइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत्यु घोषणा गरेको परिसरले जनाएको छ।
घटनास्थलको प्रारम्भिक अनुसन्धान कार्य गरी दुबै सवारी साधन र एल.पि. ट्रक चालक जिल्ला रुपन्देही सियारी गा.पा.२ बस्ने बर्ष ४० को ओम प्रकाश चमारलाई महानगरीय प्रहरी बृत ठिमी भक्तपुरमा कानुन बमोजिम राखी अनुसन्धान कार्य भईरहेको जनाइएको छ।