झौखेलमा गाडी खस्दा एकजनाको मृत्यु
जेठ २६, २०७७, सोमबार | विहान ०७:२३ बजे | 15
भक्तपुर । भक्तपुरको झौखेल खोलामा आइतबार राति मिन ट्रक खस्दा त्यसका चालकको मृत्यु भएको छ । चागुँनारायण नगरपालिका वडा नं. ३ झौखेल कालीखोलास्थित कालीघाटमा गाडी खस्दा उनको मृत्यु भएको छ ।
ब्यासीबाट झौखेलतर्फ जादै गरेको बा ५ ख ३११ नं.को महाशक्ति इट्टा भट्टाको महेन्द्र निसान मिनिट्रक सडकबाट खोलामा झरी दुर्घटना हुँदा भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेल बस्ने बर्ष अन्दाजी ३५ को नवराज लासिवाको मृत्यु भएको हो । महानगरीय प्रहरी प्रभाग ब्यासीबाट मोबाइल गस्तीमा रहेको प्रहरी अधिकृतको टोली तत्कालै पुगी हेर्दा सडकबाट कालीखोलामा गाडी खसी दुर्घटना भई चालक गाडीले नै च्यापिएको हुँदा क्रेनको सहयोगमा गम्भीर घाइते भएका उनलाई डा. ईवामुरा अस्पताल सल्लाघारी भक्तपुर पु¥याउदा डाक्टरले मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । क्षति भएको मिनी ट्रकलाइ क्रेनको सहयोगले निकालिएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए । लापरवाही तरिकाले तीब्र गतिमा सवारी चलाउदा आफै अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।