ढलेको सपना एकदिन जरुर उठ्नेछ


2025-03-29 14:25:24

News Image

ढलेको सपना एकदिन जरुर उठ्नेछ

जयराम बिडारी

राजतन्त्र र गणतन्त्रको बहसमा उठेका आवाजहरू राजाप्रति अतिशय प्रेम भएर भन्दा पनि गणतन्त्रका नायक भनिने नेताहरू नालायक भएर उठेका हुन् भन्ने जगजाहेर छ । प्रमुख भनिएका पार्टीका शीर्ष नेतृत्व मानौं अर्कै कुनै लोकबाट जनतामाथि शासन गर्नका लागि नै सोझै अवतरण भएका हुन् भन्ने स्वाङ पारेको निकै लामो कालखण्ड बितिसकेछ ।

भ्रष्टाचार,महँगी,कुशासनमा यिनीहरूको कुनै संलग्नता छैन,यी सबै पूर्णतः दोषमुक्त र सदैव दुधले नुहाएका निष्पाप मनुष्य हुन् । यिनको सदैव जयगान गर्नुपर्छ भन्ने जुन भाष्य निर्माण गर्न कसरत गरे त्यो नै लोकतान्त्रिक व्यवस्थाको कलङ्क बनेको न लोकतान्त्रिक व्यवस्थाका रैतीहरूले बुझे न शासकले यो अत्यन्त दुःखद पक्ष हो ।

आन्दोलनका सिलसिलामा यिनले आयोजना गर्ने राजनीतिक आन्दोलनका क्रममा हुने गरेका आपराधिक गतिविधिमा अमुक पक्षको घुसपैठ गरी हामीलाई बदनाम गर्न खोजियो भनेर सजिलै उम्किने परजीवीहरू राजावादीहरूको आन्दोलनका क्रममा भएको नृशंस हत्यालाई आयोजकमाथि दोष थोपरेर पुन उम्किने असफल प्रयासमा छन् । २०४८ सालताका एमालेको आयोजनामा गरिएक आन्दोलनलनका क्रममा मारिएका अनिश शाक्य प्रकरणमा 'गोलीको आँखा हुँदैन' भन्ने जस्ता गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर उम्किएकाहरू सविन महर्जन र एभिन्युजका फोटो पत्रकार सुरेश रजकको हत्यामा आयोजकमाथि दोष थुपारेर पुन उम्किने दाउ खोजिरहेका छन् ।

वैचारिक रूपमा कुनै एक पक्षको किल्लामा विवेकलाई लिलामीमा चढाएकाहरूबाट कहिलेकाहीं स्वतन्त्र विचारहरू पचाउन मुस्किल पर्ने गरेको तितो सत्यलाई पनि राम्रैसँग बुझ्न सकिन्छ । हिजोका दिनमा पनि कुनै पनि राजनीतिक दलका राम्रा पक्षलाई समर्थन र नराम्रा पक्षलाई विरोध गर्ने गरिएको क्रम भोलिका दिनमा पनि निरन्तर रूपमा सम्प्रेषित गरिरहनु एक सचेत नागरिकको नियमित कर्म हो ।

भोलिका दिनमा राजा आउलान् वा नआउलान् त्यो अलग पाटो हो । यदि आइ नै हाले भने पनि उनीबाट भए गरेका जनविरोधी क्रियाकलापका विरुद्धमा समेत आफ्ना विचार प्रवाहित गरि नै रहनु सम्पूर्ण सचेतजनको कर्तव्य हुन जानेछ । विचार तथा अभिव्यक्ति स्वतन्त्रता निरङ्कुश भनिएको राजतन्त्रमा भन्दा उन्नत व्यवस्था भनिएको गणतान्त्रिक व्यवस्थामा थप गएगुज्रेको देखियो ।

नागरिक समाज, मानव अधिकारवादी लगायत सबै दल एक मुखले विचार अभिव्यक्तिको विरुद्धमा विष वमन गरिरहेछन् । प्रहरीका अनुसार शुक्रबार प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजक र कीर्तिपुर निवासी युवा सविन महर्जन गरी दुई जनाको ज्यान गएको छ । नेपाल प्रहरीतर्फ ५३ जना, सशस्त्र प्रहरीका २४ जना घाइते भएका छन् भने प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका छन् । प्रदर्शनका क्रममा ७ वटा सरकारी र ९ वटा निजी सवारीसाधनमा क्षति पुर्‍याइएको छ । यसैगरि जडीबुटी कम्पनीसमेत १४ स्थानमा आगजनी गरिएको, ८ वटा कार्यालय र संस्थामा तोडफोड भएको छ भने एउटा व्यापारिक केन्द्र भाटभटेनीमा लुटपाट भएको छ । राजतन्त्र भएका मुलुकहरूमध्ये जापानीहरू आफूलाई प्रजा ठान्दैनन्, बेलायतीहरू रैती मान्दैनन्, नर्वेलीहरू आफूलाई दास र राजालाई मालिक पनि मान्दैनन् भने भुटानीहरू पनि देशमा राजा भएकोमा गौरवै गर्छन् भने हिजोका दिनमा दाम राखेर पाउलागी गर्नेहरूलाई राजा आउलान् कि भनेर आज किन हिनताबोध ? नेपाली जनताहरूले कम्युनिस्टहरूलाई जति शक्तिशाली बनाउन प्रयास गरेपनि यीनमा मौलाउँदै गएको भौतिक बिलासिताका कारण अन्त्यमा सकेनन् ।जनताका नजरमा लोकप्रिय हुनका खातिर नारामा समाजवाद देखाएर यथार्थमा समाजवादप्रति उन्मुख हुन नपाउने गरि वर्षौदेखि ढाँट र छल गर्दै कपटीपूर्ण व्यवहार गर्न खप्पिस कम्युनिस्टहरु साँचो अर्थमा फोहोरी राजनीतिका पर्याय बनेका छन् । अहिले देशलाई अराजकता र अनिर्णयको बन्दी बनाउन जति एमाले,माओवादीको भूमिका छ कांग्रेसको भूमिका पनि त्यो भन्दा कम नरहेको स्पष्ट देखिन्छ । जनता सचेत भएर यिनिहरूलाई ठीक ठाउँमा नल्याउने हो भने देश असफल राष्ट्र घोषणा हुन समय लाग्ने छैन । गणतन्त्रका हजारौं राजाहरुले सत्य र न्यायका पक्षमा सही काम,सही न्याय सुशासन र रोजगारीका अवसर सृजना गरिदिएका भए नेपाली जनजनले घर-घरमा यीनका प्रतिमा बनाएर भजन गाएर बस्थे र बिस्थापित राजसंस्थाका लागि हजारौं जनता सडकमा उत्रिने थिएनन् । वर्तमान परिस्थितिको मूल कारण भनेकै सरकारको गैह्र जिम्मेवारीपन,स्वेच्छाचारीता र जनविरोधी हर्कत नै दलहरुप्रति आम जनताको गहिरो निराशा र अविश्वास प्रतिबिम्बित भएको हो । केही अघि गणतन्त्रको रक्षार्थ युवा संघ ढाल बनेर उभिनेछ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति र तीनकुने घटनाको रहस्य समयक्रममा धेरै कुरा उजागर गर्ने नै छ । वर्तमान सरकारले जबसम्म जनभावनाको सम्मान गर्न असफल रहन्छ, जनताका आवाजहरु विस्फोट हुँदै जानेछ । लोकतन्त्रमा समस्या समाधानका लागि लोकतान्त्रिक मूल्य र मान्यता अन्तर्गतकै बाटो अवलम्बन गरिनु वान्छनीय हुनेछ ।यसो नगरिएको हुनाले जनाक्रोश बढेको हो भन्ने कुरा हेक्का राख्नु पर्दछ । किनकि भिडको आँखा कान र विवेक हुँदैन ।त्यसैले आन्दोलनकारीको यथोचित माग र भावनालाई सम्बोधन गरिनुपर्छ । महिनौं देखि तलव नपाउँदा पनि आफ्नो पेशागत जिम्मेवारी उठाउँदै राजावादी आन्दोलनका छायाचित्र तथा फोटाहरु संकलन गर्दा गर्दै नृशंस रुपमा हत्या गरिएका सुरेश रजक र किर्तिपुर निवासी अर्का युवा सविन महर्जनको परिवारमा पर्न गएको बज्रपातलाई कुनै पनि मूल्यले चुकाउन सकिंदैन । हिजोका दिनमा जाँड खाएर मरेकाहरुलाई समेत शहीद घोषणा गर्न पछि नपर्ने देशद्रोहीहरु आज कुनै पनि दलका दास हुन नामञ्जुर गरिएका युवाहरु भएकोले होला कुनै पनि पार्टी र राष्ट्रीय मूलधारका भनिएका मिडियाहरुको प्राथमिकतामा परेका देखिएनन् । राजाबादीहरुको आन्दोलनका क्रममा ढलेका यीनका सपना एकदिन जरुर उठ्नेछ यही कामना गरौं ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *