सुनकोसी अपडेट ः वेपताहरु सूर्यविनायक र जगातीका ः गाडी खसेको स्थान अनुमान गरी खोजी सुरु
भदौ ८, २०८१, शनिबार | साँझ ०४:०४ बजे | 30
सिन्धुलीस्थित सुनकोसी नदीमा हाइलेक्स गाडी खस्दा चालकसहित तीन जना बेपत्ता भएकाहरुमा भक्तपुरको सुर्यबिनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बिके, सोही ठाउँ बस्ने ३० वर्षीय प्रनित स्यागु र सोही ठाउँका ३७ वर्षीय बलराम घटुवा रहेको जनाइएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेबाट नदीमा खसेको उक्त गाडी खोटाङको हलेसीबाट मध्यपहाडी राजमार्ग हुँदै भक्तपुरतर्फ जाँदै गर्दा नदीमा खसेको थियो।
जिल्ला प्रहरी कार्यालयका सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिए अनुसार गाडीको नम्बर भने खुलेको छैन । गाडीमा सवार रहेकामध्य भक्तपुर जिल्ला सूर्यबिनायक नगरपालिकास्थित जगाती बस्ने २७ वर्षीय सुशान्त कक्षपति भने प्रहरीको सम्पर्कमा आएका छन् । शुशान्तको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुशान्तको पाता, कुहिनो र टाउकोमा चोट लागेको छ । उनले उपचारका लागि खुर्कोट अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
बेपत्ताको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी घटनास्थलतर्फ गएका छन् । गाडी खसेको स्थान अनुमान भएको र त्यसतर्फ खोजी सुरु भएको प्रहरीले जनाएको छ ।