के कारणले भएको थियो चुनदेवीमा आगलागी ?
जेठ १, २०८०, सोमबार | विहान ०५:३५ बजे | 5
भक्तपुरको एक फर्निचर एवं सोफा कारखानामा भीषण आगलागी भएको छ । आइतबार साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित एक फर्निचर तथा सोफा कारखानामा साँझ ७ बजेदेखि भएको आगलागी नियन्त्रणको प्रयास राति ९ बजेसम्म जारी रहेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।
साँझदेखि सुरु भएको आगलागी के कारणले भएको र कति मूल्य बराबरको क्षति भयो भन्नेबारेमा यकिन नभएको बताउँदै उनले आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएपछि सबै विवरण प्राप्त हुने बताए । उनले भन्नुभयो, “ठूलो फर्निचर कारखानामा आगलागी भएको छ, कारखाना कसको हो, के कति मूल्य बराबरको सामान क्षति भयो, आगलागीका कारण के हो भन्ने विवरण आएको छैन, सबै निकाय आगो नियन्त्रणका लागि सक्रिय छन्, पूर्ण रुपमा आगो नियन्त्रणमा आएपछि प्रहरीले मुचुल्का गरेपछि मात्रै सबै विवरण आउँछ ।”
जुद्ध वारुण यन्त्र भक्तपुरका तीन, काठमाँडौं र ललितपुरका दुई गरी पाँचवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको उनले बताए । अचानक हावाहुरीसहित भइरहेको वर्षाका कारणले आगलागी नियन्त्रणमा ल्याउन समस्या भइरहेको उनले बताए ।